logo
  • Saturday, October 31, 2020
  • वि.सं १५ कार्तिक २०७७, शनिबार

तीज पर्व सुरु आज दर खाने दिन

स्टिम न्युज वि.सं १५ भाद्र २०७६, आईतवार ०६:२४
तीज पर्व सुरु आज दर खाने दिन

काठमाडौं,। आज हरितालिका तीजको अघिल्लो दिन अर्थात दर खाने दिन , हिन्दु नारीहरुले दर खाने प्रचलन छ । विभिन्न मिष्ठान्न परिकारका साथ आज दर खाएर तीज पर्व मनाइँदैछ । भोली बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ ।

तीजको मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका रुपमा खाने चलन भएको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।

दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ । हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुने गर्दछ । त्यसैले दर खाने चलन बसेको बताइन्छ ।

परापूर्वकालमा देवी पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोली ब्रत बस्ने चलन रहेको छ ।

यसैबीच , स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान आग्रह गरेका छन् । सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ ।



Loading...
loading...

Top