कम्युनिस्टहरु धर्म, संस्कृति र सम्पदामा विश्वास गर्दैनन् भन्ने चरितार्थ भयो: सांसद केसी

धर्म
Advertisement

कम्युनिस्टहरु धर्म, संस्कृति र सम्पदामा विश्वास गर्दैनन् भन्ने चरितार्थ भयो: सांसद केसी

काठमाडौं, जेठ २८ । कम्युनिस्टहरु संविधान र कानुन मान्दैनन् भन्ने तथ्य चरितार्थ भएको नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राजेन्द्र कुमार केसीले यस्तो धारणा राखेका हुन् ।

आफूले स्कुल पढ्दा ‘कम्युनिस्टहरु धर्म मान्दैनन्, संस्कृति र सम्पदामा विश्वास गर्दैनन्, चाडपर्वमा विश्वास गर्दैनन्’ भन्ने कुरा सुनेको र बर्तमान कम्युनिष्ट सरकारको कदमले त्यो चरितार्थ भएको केसीको भनाइ थियो ।

सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सरकारले दमन गरेको भन्दै संसदमा कांग्रेस सांसदहरुले विरोध प्रकट गरेका थिए ।

विरोध पछि सभामुख कृष्णबहादुर महराले उनलाई बोल्न समय दिएका थिए ।

सांसद केसीले भने, ‘कम्युनिस्टहरु संविधान र कानुन पनि मान्दैनन् भन्ने आज चरितार्थ भएको छ ।’

सरकारले ल्याएको विधेयकले गुठीयारहरु आक्रोसित भएको उनले बताए ।

देशभरीका गुठीलाई समाप्त पार्ने र चाडपर्व र जात्रा परम्पराको सहरका रुपमा रहेको काठमाडौंको पहिचान मेट्ने प्रयास भएको भन्दै उनले विरोध गरे ।

विरोधमा उत्रिएका जनतालाई लाठी चार्ज गरेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने हक सरकारले खोस्न थालेको आरोपसमेत उनले लगाए ।

सांसद केसीले भने ‘नाङ्लो ठटाएर हात्ती तर्साउने खेल राजधानीबासीलाई सरकारले नदेखाओस् ’ ।

यसअघि संसदमा दर्ता भएको गुठीसम्बन्धी विधेयक कुनैपनि हालतमा स्वीकार्य नभएको कांग्रेसले बताएको छ ।

यो पनि हेर्नुहोस्:

धर्म, संस्कृति र परम्पराको विनाश गर्ने गरि ल्याइएको गुठी विधेयक स्वीकार्य छैन: कांग्रेस

Facebook Comments