logo
  • Tuesday, June 2, 2020
  • वि.सं २० जेष्ठ २०७७, मंगलवार

पश्चिमेली छाउपडी प्रथा को पश्चिमेली समाधान !

स्टिम न्युज वि.सं २४ माघ २०७६, शुक्रबार २२:१३
पश्चिमेली छाउपडी प्रथा को पश्चिमेली समाधान !

मेरो घर सुदुरपश्चिम अझ भन्नुपर्दा म अछामको मान्छे जहाँ बाट यो छाउपडी प्रथा सुरु हुन्छ । जहा यस प्रथाले बलियो सँग जरा गाडेर बसेको छ । थाहा छैन सुदुरपश्चिम भन्दा बाहिरका  मान्छे बिशेष गरेर शहरियाहरुले त्यो प्रथाको पकडलाई कस्तो रुपले लिन्छन तर मैले चाहिँ आफैँले आमा महिनावारि हुदा वा छाउ हुदा / पर सर्दा / नछुने हुदा, यो प्रथा नजिक बाट बुझेको छु । सुन्दा एकदमै डर र दुःख लागेर आउँछ, अछाममा यस्तो भयो उस्तो भयो, बाजुरामा २ छोरा सहित आमा छाउ गोठमै मरिन, यो बर्ष भरि छाउपडी प्रथाका कारणले यती मान्छे मरे र यस्तै यस्तै ।

मानवअधिकार आयोगद्वारा गरिएको “छाउपडी प्रथाले महिलाको जिवनमा पारेको प्रभावबारे २०७५” को एक अध्ययनले २०६४ निर्देशीका जारी भए देखि २०७४ सम्म असुरक्षित र अनुपयुक्त छाउ गोठमा बस्दा १३ महिलाले ज्यानगुमाई सकेको जनाएको छ। अझ उदेक त त्यति बेला लाग्छ जब समाचार आउँछ छाउपडी घर भत्काइएकोले चिसोमा कठ्याङग्रीएर मरे रे ! माथिल्लो रिपोर्टमा पनि २०७५ सालमा छाउपडी गोठ भत्काउदा चिसोले कठ्याङ्ग्रीएर ज्यान गुमाएका २ जना महिलाको उल्लेख गरिएको छैन । त्यसो भए के ति भत्काउने सरकार र सम्बन्धित निकाय अपराधिहुन त ?

यी यावत कुराहरुलाई सोच्दा मनमा प्रश्न उब्जिन्छ ! के साच्चै  २-४ दिन गैह्र सरकारी संस्था अथवा सरकार पुरै लागेर त्यो ठाउँमा छाउपडी गोठ भत्काउँदा वा सरकारी खबर बिरलै पुग्ने सुदुरपश्चिममा, मुलुकको कानुनको त्रासले मात्रै यस छाउपडी प्रथाको समाधान गर्न सक्छ त ? यो पटक पनि कठमाडौंको सरकारले दुर-दराजको सुदुरपश्चिका छाउगोठ भत्काउने निर्णय गर्यो रे ! फलस्वरुप २०७६ पौष १० गते देखि २०७६ माघ २१ गते सम्मको करिब डेढ महिनाको छोटो अबधीमा  नै ७ हजार ९ सय १ छाउगोठ भत्काइएका छन । जस मध्य करिब ७० प्रतिशत ( ५ हजार ४ सय ६०) त मेरै अछाममा परेछन । मलाई लाग्दैन कि यसरी ब्यबहारमा छाउपडी प्रथाको अन्त्य हुन सक्छ; भलै कागजमा छाउगोठ मुक्त देश भए बेग्लै कुरो ।

मेरो अनुरोध सम्पुर्ण पत्रकारज्युहरुलाई ७ हजार ९ सय १ छाउगोठ भत्काइएकाले चिसो को कारणले कठ्याङग्रिएर यति महिलाले ज्यान गुमाए भन्ने समाचार सम्प्रेशण गर्न पनि नभुल्नु होला ।

मेरै अनुभवको कुरा गर्दा, मेरो परिवार पहाडबाट कंचनपुर बसाई सरेको ३० बर्ष बढी भइ सक्दा पनि कंचनपुरमा नै हटाउन नसकिएको छाउपडी घर र प्रथा, अन्य पश्चिमका पहाडी जिल्लामा चाहीँ कसरि यति सजिलै छाउपडी घर (गोठ) भत्काएर हटाउन सकिएला र ? धैरै समयको रस्साकस्सी पछी पनि आफ्नै घरमा भएको छाउपडी घर भत्काउने प्रयास र असफलता पछि मैले यो प्रथा कसरि सुरु भयो ? र किन अहिले सम्म यसरि जरा गाडेर बसेको छ ? भनेर मेरो अग्रज हरु बाट बुझ्न खोज्दा यो रित चल्नुको पछाडी वैज्ञानीक कारण भए पनि समाजले मान्य बनाउन देवि देवताको नामले कार्यान्वयन गरियो । अहिलेको विज्ञान ले के सिकाउँछ भने महिनावारी हुदा महिलामा धैरे रक्तश्राव हुने हुनाले बिश्राम गर्नु पर्छ र किटाणुको संक्रमण हुन सक्ने भएका कारण सरसफाईमा पनि त्यति नै ध्यानदिनु पर्छ । यसै वैज्ञानीक कारणलाई पछ्याइए जस्तो गरि हाम्रा पश्चिममा महिला महिनावारी हुदा उसले गरेको केहि पनि काम चल्दैन जस्तैः घास काटेको गाई गोरु लाई चल्दैन, दाउरा चुलोमा चल्दैन र यस्तै यस्तै केहि पनि काम चल्दैनन् । जसले के हुदो रहेछ भने महिनावारी भएको ५-७ दिन सम्म केहि पनि काम नगरेर बिश्राम गरेर बस्नु पर्दो रहेछ । सरसफाईको कुरा गर्नु हुन्छ भने महिनावारी भएको महिलाले ५-७ दिन सम्म दिनहुँ आफुले पनि नुहाउनै पर्ने र आफु सुत्ने छाउगोठ घरको पनि दिनहुँ लिपपोत गर्नु पर्ने हुदो रहेछ ।

तर पछि गएर राम्रा पक्षहरु सबै हट्दै गए तर नराम्रा पक्षहरुले रुढिबादिको रुप लिदै गयो । जस्तो कि अबको दिनमा महिनावारि हुदाको बखत गरेको काम चाहीँ सवै चल्ने रे तर देवि देवताका कारण भित्र बस्न नपाएर छाऊ गोठमा बस्न पर्ने रे ! त्यसताका जान्ने मान्नेहरुले नराम्रा पक्षहरुलाई चाहि अझै नराम्रो बनाउदै गए राम्रा पक्षहरुलाइ ( अनिवार्य गर्नै पर्ने बढी शारीरीक परिश्रम गर्नु पर्ने कामबाट बिश्राम गर्न मिल्ने, दिनहु सरसफाई गर्न पर्ने आदी) पनि नराम्रा बनाउदै गए ।

एउटा प्रथा जुन नारीको जीवनलाइ केही दिन भए पनि सहज बनाउने परिकल्पना का साथ सुरू गरिएको थियो त्यो प्रथा अब प्रथा मात्रै रहेन कुप्रथामा नै परिणत भयो । अझ एउटा मेरो नजिकको समाजिक अभियान्ता दाजुको तर्क त यो प्रथालाई कुप्रथा नै भन्नु हुदैन भन्ने छ । वहाँको भनाई मान्ने हो भने त्यती बेलाको रिवाजलाई त्यती बेलाकै ऐना बाट हेरीनु पर्छ, तात्कालीन परिस्थितीको चेतना स्तरमा सबैले बुझ्ने भाषा / शैलीमा प्रथा बनेका हुन्छन ति प्रथा त्यस समयमा उपयुक्त हुन्छन / ठानिन्छ त्यसलाइ अहिलेको लेन्स बाट हेर्दा न्याय हुँदैन् ! तर त्यति बेला जुन लक्षले बनाइएको भएता पनि यो प्रथा/कुप्रथा हटाउन कठिन भइरहेको छ ।

यति बुझि सकेपछि यदि केहि कुरा मैले मेरै घरमा सुधार गर्न सक्यो भने त छाउपडी प्रथा वा महिनावारि हुन सक्ने दुर्घटना बाट बच्न सकिन्थ्यो की जस्तो लाग्यो र त्यसैको फल स्वरूप हाम्रो घरमा भएको छाउपडी  घरलाई सुरक्षित बनाउने निर्णय गर्यौं र मेरो घरमा, घर भन्दा चिटिक्क परेको अनि पुर्ण सरसफाई भएको छाउपडी घर बनायौ र त्यहाँ भित्रै गर्मिको महिनाको लागि फ्यान (पङ्खा) पनि राख्यौँ र चिसोको महिनाको लागि प्रयाप्त ओडने, बिस्तराको व्यवस्था पनि  गर्यौं । आजकाल त्यो छाउपडी घर सुरक्षित भएकोले मेरो छिमेकका १०-१५ महिलाहरु (जसलाइ असुरक्षीत बस्नु पर्ने बाध्यता थियो) आफु महिनावारी हुदा त्यहाँ बस्न आउने गरेका छन् ।

यसो भन्दै गर्दा मैले अब यो प्रथाको जर्गेना र प्रवर्धन गर्नु पर्छ भनेको चाहि हैन । तर यो प्रथालाई एकै पटक जरै बाट उखेलेर फाल्न नसकिने भएको हुँदा यसलाई जनचेतना संगसंगै बिस्तारै निर्मुल गर्दै जानुपर्छ नकि अगाडी भने जस्तै २-४ दिन गैह्र सरकारि संस्था त्यो ठाउँमा गएर गोठ भत्काउने । छाउगोठ त भत्किएलान तर मन देखी नै त्यो प्रथा छाड्नु हुन्न भन्ने र पाप लाग्छ भनेर पापको डरले घर भित्र बस्न नमान्ने महिलाहरु चिसोमा कठ्याङग्रीएर मर्ने क्रम रोकीदैँन । बरु जस्तोकी मेरो घरमा मेरो हजुर बुबा-आमाको पुस्ता सम्म वा भनौन मेरा आमाबुबाको पिढिँ सम्म मेरो घरमा त्यो छाउपडी गोठ हटदैन तर मेरो पिढिँमा आउँदा त्यसलाई म आफै भत्काउँछु । अहिले पनि काठमाडौंमा म, दाइ र भाउजु सगैं बस्छौँ र हामि दाजुभाई, भाउजु छाउ हुदा पनि वहाले नै पकाएकौ खान्छौँ; उहाँ पर सरेको भनेर छुट्टै व्यबहार गर्दैनौं ।

मेरो घरमा पनि विस्तारै केहि सुधार पनि देखिदै छ, पहिले पहिले ७ दिन सम्म बाहिर राख्ने अहिले ४ दिन मात्र राख्न सुरु भैसकेको छ । भविष्यमा जुन अझ हट्दै जानेछ  । तर जति बेला सम्म हट्दैन त्यति बेला सम्म त मेरा आफन्त सुरक्षित त छन । यस्तै प्रकारले यदि यतिका गैर सरकारि संस्था र सरकारको सहकार्य गर्छन भने जन चेतना संगसगै अहिलेको लागि जति बेला सम्म दोश्रो वा तेश्रो पुस्ताले यो परिवर्तनलाइ सहजै स्विकार गर्दैनन तब सम्मको लगि हामि सुरक्षित छाउपडी घर बनाईदिउ न । प्रत्येक घरमा सकिदैन भने १०-१२ घरको लागि एउटै तर सुबिधा युक्त बनाउन सकिन्छ ।

जनचेतना पनि सँगसँगै बढाउदै जाउ र आउने पिढिँले आफै छाउ घर भत्काउदै जानेछन र बिस्तारै यो प्रथा पनि हट्दै जानेछ । यो जनचेतनाका कार्यक्रम हामी जस्तै युवायुवतिका माझमा र युवायुवतिकै मार्फत घर–घरमा र गाऊ–गाऊमा पुर्याइनु पर्छ । यसो गर्दा छाउपडी प्रथाको काठमाडौमा बसेर गरिने समाधान भन्दा अल्पकालिन र दिर्घकालीन पश्चिमेली समाधान हुन सक्छ ।

अनि चाख लाग्दो कुरो त के छ भने यो प्रथा कुनै न कुनै रुपमा देशको सबै कुनामा रहेछ । धनाढ्य र काठमाडौंको रैथाने हरुले पढ्ने कलेज भनेर चिनिने कलेजमा अध्ययन गर्दै गर्दा शिक्षित वर्ग भनिने उपल्लो समाजको बारेमा बुझ्ने मौका पाइयो । यद्मपी सुदुरपश्चिमको जस्तै दुर्घटना नै हुने खालको छाउपडी प्रथा नभए पनि कुनै न कुनै रुपमा चाहीँ मान्दै आएका रहेछन ।

अन्त्यमा, छाउपडी प्रथा नराम्रो नै हो यसको अन्त्य गर्ने जिम्मेवारी मेरै पुस्तामा छ र हामी अन्त्य पनि गर्छौ तर ज्यान लिएर होइन ज्यान जोगाएर !!

लेखक:गणेश बिष्ट
कन्चनपुर हाल काठमाण्डौ
लेखकलाइ फेसबुकमा पनि भेट्न सक्नु हुन्छ ।

 

बहिनीको रजस्वला; दाइको पिडा !!



Loading...
loading...

Top