logo
  • Sunday, September 27, 2020
  • वि.सं ११ आश्विन २०७७, आईतवार

बायर्नले जित्यो च्याम्पियन्स लिगको उपाधि !

स्टिम न्युज वि.सं ८ भाद्र २०७७, सोमबार ०७:२५

काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १–० गोलले हराउँदै बायर्नले उपाधि जितेको हो ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा भएको खेलमा बायर्नलाई जिताउन किंग्स्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५९औं मिनेटमा कोमानले जोसुआ किम्मिचको पासमा गोल गर्दै बार्यनलाई उपाधि जिताएका हुन् ।

त्यसअघि खेलको पहिलो हाफ निकै नै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले गोल गर्न सकेका थिएनन् । १९औं मिनेटमा एम्बाप्पेको पासमा नेयमारले गरेको प्रहार बायर्नका गोलरक्षक म्यानुयल नुयरले उत्कृष्ट तरिकाले बचाएका थिए ।

खेलको २१औं मिनेटमा लेवान्डोस्कीले गोल गर्ने मौका गुमाए । उनको प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो ।

खेलको ३२औं मिनेटमा लेवान्डोस्कीको प्रहार नाभासले ब्लक गरेका थिए । ग्नाब्रीको प्रहारलाई लेवान्डोस्कीले गोलको दिशा दिन खोजेका थिए । तर, नाभासले बल पुस गर्दै उनको प्रयास बिफल बनाइदिए ।

यस्तै खेलको ४४ औं मिनेटमा एम्बाप्पेको बल नुयरले उत्कृष्ट बचाउ गरेका थिए । खेलमा दुवै टोलीका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

तर, ५९औं मिनेटमा कोमानले पीएसजीका गाेलरक्षक केयलर नाभासलाई कमजाेर तुल्याउँदै गोल गरे । र, बायर्नलाई २०२० काे च्याम्पियन्स लिगको उपाधि जिताए ।

यससँगै बायर्न छैटौं पटक उपाधि जित्दै इंग्लिस क्लब लिभरपुलसँग उपाधि बराबर बनाएको छ । दुवैले समान ६-६ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

यसअघि बायर्नले सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ च्याम्पियन्स लिगकाे उपाधि जितेको थियो । त्यसबाहेक ऊ छ पटक फाइनल पुगेर उपाधिविहीन बनेको थियो ।

बायर्न यस सिजनकाे च्याम्पियन्स लिगमा अपराजित रहँदै युराेपियन च्याम्पियन बनेकाे हाे ।

यता, पहिलोपल्ट फाइनल पुगेको पीएसजी च्याम्पियन्स लिगको उपाधि जित्न असफल बन्यो । यस्तै पीएसजीकाे सिजकाे चाैथाे उपाधि जित्ने सपना अधुरै रह्याे । यसअघि पीएसजीले फ्रेन्च लिग वान, फ्रेन्च कप र फ्रेन्च लिग कप गरी तीन उपाधि जितेकाे थियो ।

यसअघि पीएसजीले मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

बायर्नले भने फ्रेन्च क्लब लियोनमाथि ३–० गोलको जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।



Loading...
loading...

Top