logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

मागको ९० प्रतिशत सिमेण्ट नेपालमै उत्पादन

वि.सं १४ जेष्ठ २०७६, मंगलवार ००:१३
Blog single photo

मागको ९० प्रतिशत सिमेण्ट नेपालमै उत्पादन

काठमाडौँ, १३ जेठ: सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५-७६ को आर्थिक सर्वेक्षणमा मागको ९० प्रतिशत सिमेण्ट नेपालमा नै उत्पादन भइरहेको जनाइएको छ ।

सिमेण्ट उद्योगको विकास तथा सञ्चालनमा उल्लेखनीय सफलता प्राप्त भई वार्षिक ४५ लाख टन सिमेण्ट उत्पादन भई मागको ९० प्रतिशत सिमेण्ट स्वदेशमै उत्पादन भई सिमेण्टको आयातमा कमी आएको सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षण अनुसार हालसम्म २० हजार टन दैनिक सिमेण्ट उत्पादन गर्ने क्षमता भएका २६ सिमेण्ट उद्योग स्थापना भई सञ्चालन छन् । यस्तै छ सिमेण्ट उद्योग निर्माणाधीन अवस्थामा छन् ।

यस्तै सर्वेक्षणमा १०७ अर्ब टन चुनढुङ्गा अन्वेषण गरिएको उल्लेख छ । जम्मा ६४ करोड टन प्रमाणित, ११ करोड टन अर्ध–प्रमाणित र ३२ करोड टन सम्भाव्य गरी कूल १०७ अर्ब टन चुनढुङ्गा अन्वेषण गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ । सरकारले उदयपुर, धनकुटा, खोटाङ्, सिन्धुली, मकवानपुर, ललितपुर, धादिङ, स्याङ्जा, अर्घाखाँची, पाल्पा, दाङ, सल्यान, सुर्खेत, बैतडीलगायतका जिल्लामा चुनढुङ्गा अन्वेषण गरेको हो ।

यस्तै शीघ्र आर्थिक तथा वित्तीय प्रतिफल प्राप्त हुने खनिज खरी, मार्बल, जेम्स स्टोन, कोइला, क्वार्जाइट, क्यालासाइट र रातोमाटोमा आधारित साना तथा मझौला स्तरका खनिज भण्डारको अन्वेषणदेखि उत्पादनसम्मको कार्यका लागि आव २०७४-७५ सम्म १२९ उत्खनन र ३६२ खोजतलास कार्यको प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, हेटौँडा, धरान, विराटनगर, सुर्खेत, नेपालगञ्ज, जनकपुर, धनगढी, महेन्द्रनगर, भरतपुर, विदुर, जलेश्वरलगायत शहरको व्यवस्थित शहरी विकास र फोहरमैला व्यवस्थापनका लागि भू–इञ्जिनीयरिङ तथा भू–वातावरणीय अन्वेषणको सर्वेक्षणको कार्य सम्पन्न भएको जनाइएको छ ।

यसैगरी चुनढुङ्गा, पत्थर, कोइला, खरी टुर्मालिन, काइनाइटलगायत ११ खनिजमा आधारित जम्मा १३१ खानी सञ्चालनमा छन् । ती खानीमा छ हजार ५०० जनशक्तिले रोजगारी पाएका छन् । खनिजमा आधारित ६७ उद्योगमा करीब रु ४.५ अर्ब वैदेशिक लगानी स्वीकृत भई सोबाट थप करीब आठ हजार छ सय रोजगारी सिर्जना हुने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

 

रासस

Top