भैंसी सुन्दरी प्रतियोगिता: बिजेतालाई लैनो भैंसी उपहार

भैंसी सुन्दरी
Advertisement

भैंसी सुन्दरी प्रतियोगिता: बिजेतालाई लैनो भैंसी उपहार

इनरूवा । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको बिजेतालाई भैंसी उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न प्रतियोगितामा प्रतिष्पर्धा गराइएका ९० वटा भैंसीमध्ये छनौटका आधारमा उत्कृष्ठ ठहरिएको सुन्दरी भैंसीका धनी विन्देश्वर इशरलाई प्रथम पुरस्कारवापत लैनो भैंसी प्रदान गरिएको हो ।

प्रतियोगिता कोशी गाउँपालिकाले आयोजना गरेको भए पनि भैंसी सुन्दरीलाई प्रदान गरिएको प्रथम पुरस्कारवापतको लैनो भैंसी भने इनरूवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रदान गरेका हुन् ।

प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालासहित इनरूवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले संयुक्तरूपमा पुरस्कार वितरण गरेका हुन् ।

सुनसरीमा भैंसी सुन्दरी प्रतियोगिताको अवधारणा भने पहिलो पटक इनरूवा नगरपालिकाले अघि सारेको थियो । सोहीअनुसार प्रतियोगिताको तयारी थाल्दै गर्दा नगर प्रमुख राजन मेहताले व्यक्तिगत पहलमा १ लाख ५० हजार लागतको भैंसी खरिद गरेका थिए ।

अल्पमतमा रहेका मेयर मेहताको सो प्रस्ताव कार्यपालिकाबाट पारित हुन नसक्दा भैंसी त्यत्तिकै थन्किएको थियो । कोशी गाउँपालिकासँग भगिनी सम्बन्ध गाँसेसँगै इनरूवा नगर प्रमुख मेहताले इनरूवाको लागि खरिद गरिएको भैंसी कोशी गाउँपालिकामा आयोजित भैंसी सुन्दरी प्रतियोगिताका बिजेतालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा भैंसी सुन्दरीसहित गाई सुन्दरीमा उत्कृष्ठ ठहरिएका धनीलाई नगदसहित सम्मान गरिएको थियो ।

Facebook Comments