logo
  • Saturday, October 31, 2020
  • वि.सं १५ कार्तिक २०७७, शनिबार

आज विश्वकर्मा पुजा

स्टिम न्युज वि.सं १ आश्विन २०७७, बिहीबार ०७:०५
आज विश्वकर्मा पुजा

काठमाडौँ। आश्विन सङ्क्रान्तिका दिन आज विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । मेशिनरी पार्टस्का औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा आज विश्वकर्माको पूजाआराधना विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ ।

पर्वका अवसरमा सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान÷पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गरिने चलन छ । ठूला–साना सबै कलकारखानामा विश्वकर्मा पूजनोत्सव मुख्य पर्व मानिँदै आइएको छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मान्ने गरिन्छ ।

यही सम्झनामा नेपालका कालीगढले भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

यस पर्वमा कारखाना वा कुनै पनि उद्योगमा काम गर्ने कामदारलाई सञ्चालकले विशेष भोजन गराउने, बोनस दिने र नयाँ वस्त्र दिने परम्पराले श्रमिकका लागि यो पर्व खास अवसर पनि बनेको कारखाना र उद्योगका कामदार बताउँछन् । यो पर्वका अवसरमा दारीकपाल सेताम्य फुलेको आकृतिका श्री विश्वकर्माका प्रतिमा सबैजसो औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र गाउँनगर बस्तीका चोक–चोकमा स्थापित गरिएका छन् ।

झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माले आफ्ना चारहातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल हातमा लिएका प्रतिमामा देखिन्छ । कैयौँ ठाउँमा विश्वकर्मा पूजा पर्वका अवसरमा धार्मिक मेला र विशेष नाचगान कार्यक्रम आयोजना गरिएका छन् ।

सत्ययुगमा देवता र दैंत्यले संयुक्तरूपमा समुद्रमन्थन गर्दा उत्पत्ति भएका विश्वकर्मालाई ब्रह्माले ज्यावलको संरक्षण र उपयोग गराउने जिम्मेवारी दिएको बताइन्छ । आज असोज सङ्क्रान्तिका दिन विश्वकर्माको पूजाआराधनाले ज्यावल खिया नलाग्ने, टिकाउ हुने र सधैँ शुभ फल दिने विश्वास गरिन्छ ।



Loading...
loading...

Top