विवेकशील साझा फुट्यो, उज्वल थापाको नेतृत्वमा नयाँ दल दर्ता

0
विवेवशील साझा,अख्तियारमा उजुरी,विवेकशील साझा फुट्यो
bibekshil sajha party
Advertisement

विवेकशील साझा फुट्यो, उज्वल थापाको नेतृत्वमा नयाँ दल दर्ता

काठमाडौं । लामो समयको विवादपछी विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाको नेतृत्वमा  नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अंशु थापा लगायत रहेका छन्।

संयोजक रबिन्द्र मिश्र र थापाबीच पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएको थियो। पुस ३० गतेकालागि बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक अघि पार्टी सदस्यहरु स्पष्ट रुपमा मुलतः रबिन्द्र मिश्र र उज्वल थापा गुटमा विभाजित देखिएका थिए।

मूल्य मान्यताको राजनीति र सुसंस्कृत राजनीतिबाट पार्टी मोडिएको आरोप लगाउँदै उज्वल थापा समूह टुक्रिएको हो। संयोजक थापाले पार्टीमा बुझाएको समीक्षा प्रतिवेदनलाई  रविन्द्र मिश्र समूहले वेवास्ता गरेर उनीहरुलाई अल्पमतमा पार्न ६ केन्द्रीय सदस्य थप गर्न लागे पछि पार्टी फुटको संघारमा पुगेको हो।

मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनैपनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ। ‘यसको मतलव अहिले मिश्र समूहले शक्ति केन्द्रीकृत गरेको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र समेत कमजोर हुँदै गएको छ’ थापा निकट एक नेताले भने।

उज्वल थापाले नेतृत्व गरिरहेको विवेकशील नेपाली र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकिकरण भई गतवर्ष विवेकशील साझा पार्टी निर्माण भएको थियो।

Facebook Comments