logo
  • Monday, September 28, 2020
  • वि.सं १२ आश्विन २०७७, सोमबार

नेपाल र भारतबीचको द्विपक्षीय हवाई सम्झौता संसोधन

वि.सं १४ श्रावण २०७५, सोमबार १२:३०
नेपाल र भारतबीचको द्विपक्षीय हवाई सम्झौता संसोधन

नेपाल र भारतबीचको द्विपक्षीय हवाई सम्झौता संसोधन

नेपाल र भारतबीचको द्विपक्षीय हवाई सम्झौता संसोधन भएको छ। संसोधनअनुसार नेपाल र भारतका एयरलाइन्सहरुले एकआपसमा कोड साटासाट गर्न पाउने भएका छन्।

गत साताको मन्त्रिपरिषद्को बैठकले हवाई सम्झौताको संसोधनलाई अनुमोदन गरेसँगै नेपाल र भारतका एयरलाइन्सले एकआपसमा यात्रु ओसारपसारमा साझेदारी गर्ने बाटो खुल्ला भएको हो।

लामो समयदेखि भारतीय पक्षले नेपालसँग कोड सेयर गर्न माग गर्दै आएको थियो। विशेषगरी भारतीय एयरलाइन्सको व्यापार हितलाई ध्यानमा राख्दै भारत सरकारले माग गरेपनि नेपाल सरकारले हवाई रुट दिन भारत सहमत भएपछिमात्र उक्त सम्झौतालाई अनुमोदन गरेको हो।
एक वर्ष अघि नै सम्झौतामा हस्ताक्षर भएपनि नेपाल सरकारले अनुमोदन नगर्दा उक्त व्यवस्था लागू हुन सकेको थिएन।

कोड सेयर भनेको दुई एयरलाइन्सबीचको सम्झौताअनुसार एक ठाउँबाट ल्याएका यात्रुलाई त्यही टिकट र बोर्डिङ पासमा अर्को ठाउँमा पठाउने व्यवस्था हो।

यो व्यवस्था लागू भएपछि लन्डनबाट सिधै काठमाडौंका लागि यात्रुले टिकट लिन सक्छन्। त्यहाँको विमानस्थलबाट बोर्डिङ पास लिएर आएको यात्रुले भारतको नयाँ दिल्ली हुँदै काठमाडौं आउन सक्छन्। एयरलाइन्स र जहाज परिवर्तन भएपनि उही टिकटमा यात्रुले काठमाडौंसम्म आउनसक्ने व्यवस्था खुल्ला भएको छ।

भारतमा विश्वका मुख्य देश र सहरमा उडान पहुँच भएको र त्यहाँबाट यात्रुहरु सिधै काठमाडौंको टिकट लिएर आउनसक्ने विश्वाससहित सरकारले अनुमोदन गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए।

‘संसारका मुख्य विमानस्थलबाट भारतको नयाँ दिल्ली हुँदै काठमाडौंका लागि सिधै यात्रु आउनसक्छन् यसबाट दुईवटा टिकट लिनुपर्ने झन्झट पनि सकिने छ’अधिकारीले सेतोपाटीसँग भने,‘सहज यात्राको वातावरण बनेपछि स्वतः पर्यटक बढ्ने छन्।’

यसबाट नेपाल र भारतका एयरलाइन्सलाई व्यापार विस्तारको अवसरको ढोका खुलेको मन्त्री अधिकारीको भनाइ छ।

अव नेपाल र भारतका एयरलाइन्स जसको जहाँ आफ्ने उडान छैन त्यहाँको टिकट काट्न सक्छन्। आफूले उडान नगरेको ठाउँमा पनि यात्रुहरुलाई सेवा दिनसक्नेगरी व्यवस्था गर्नसक्छन्।

यसपछि काठमाडौंमा सिधा उडान भएको एयरलाइन्सले टिकट काट्न सक्ने छ। जसले काठमाडौंमा उडान भएको एयरलाइन्ससँग सम्झौता गरेको हुन्छ। यस्तोमा भारतको सहरबाट काठमााडौ आउने एयरलाइन्सले यात्रु पाउछ र सम्झौता अनुसार रकमको बाँडफाँड हुन्छ।

नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्ली उडान गर्ने अमेरिकाको एयरलाइन्ससँग कोड सेयर सम्झौता गरेमा काठमाडौंबाट सिधै अमेरिकाको सहरमा टिकट काट्न सक्छ।त्यस्तै भारतीय एयरलाइन्सले पनि यो सुविधा पाउने छन्।

भारतीय एयरलाइन्सलाई फाइदा
यो सम्झौताबाट भारतीय एयरलाइन्सलाई बढी फाइदा हुने भन्दै अनुमोदन नगर्न मन्त्रालयकै अधिकारीहरुले दवाव दिंदै आएका थिए। नेपाली एयरलाइन्सले विश्वका प्रतिष्ठित एयरलाइन्ससँग सम्झौता गर्नसक्ने र उनीहरुलाई पत्याउने अवस्था नभएकोले अहिले भएको व्यापार पनि भारतीय एयरलाइन्सले खोस्ने अवस्था आउने उनीहरुको तर्क थियो।

यसबाट लन्डनबाट नेपाल उडान नगर्ने एयरलाइन्सले काठमाडौंका लागि टिकट काट्छ तर उसले कोड सेयरिङ जेट एयरवेजसँग गरेको हुनसक्छ। यस्तोमा नेपाल एयरलाइन्सले पाउँदै आएका यात्रु सिफ्ट हुने अधिकारीहरुको आशंका छ।

नेपाली एयरलाइन्सको व्यापार, विश्वासनीयत नभएकोले विश्वविख्यात एयरलाइन्सले सम्झौता गर्ने सम्भावना न्यून छ। एउटा जहाज विग्रिएको खण्डमा उडान स्थगन हुने अवस्था भएका एयरलाइन्ससँग कुनै पनि एयरलाइन्सले कोड सेयर गर्ने सम्भावना नभएको एक अधिकारीले बताए।
तर मन्त्री अधिकारी भने यो व्यवस्थाबाट नेपाल आउने पर्यटकलाई सहज हुने र त्यसबाट पर्यटकको संख्या बढ्ने भएकोले अनुमोदन गरिएको बताउछन्।



Loading...
loading...

Top