logo
  • Thursday, November 21, 2019
  • वि.सं ५ मंसिर २०७६, बिहीबार

मेट्रो र मोनोरेल होइन अब चल्नेछ AGT

वि.सं ८ माघ २०७४, सोमबार १४:४८
Blog single photo

मेट्रो र मोनोरेल होइन अब चल्नेछ AGT

८ माघ, काठमाडौं । उपत्यकामा बढ्दो ट्राफिक जामको विकल्पमा सार्वजनिक यातायातका धेरै अध्ययन प्रतिवेदन, खाका र प्रस्ताव तयार भएका छन् । कहिले मेट्रो कहिले मोनोरेल तर त्यसैको पछिल्लो श्रृंखलाका रुपमा जापानी सहयोग नियोग  (जाइका)ले अगाडि सारेको छ, अटोमेटेड गाइडवे ट्रान्जिट (एजीटी) प्रणालीको अवधारणा ।

स्वचालित यातायात प्रणाली हो, एजीटी । मेट्रो, मोनोरेलजस्ता ‘मास ट्रान्स्पोर्टेसन’भन्दा पनि यो प्रणाली काठमाडौंजस्तो भूगोलमा उपयुक्त हुने जाइकाको सुझाव छ ।

जापानलगायत विकसित मुलुकमा चर्चित यातायात प्रणाली हो यो । एउटै शक्तिशाली इन्जिनयुक्त गाडीमा रेलका जस्तै डिब्बाहरु जोडेर चलाउन सकिने अवधारणामा आधारित छ, यो प्रणाली । तर, त्यसका लागि रेलको लिकजस्तै गुड्न गाइड गर्ने पूर्वाधार निर्माण गर्नुपर्छ ।

जापानले तयार पारेको ‘काठमाडौं उपत्यका यातायात गुरुयोजना’मा त्यस्तो प्रणाली तत्कालै कार्यान्यवन गर्न सकिने उल्लेख छ । र, जापानले त्यसका लागि औपचारिक प्रस्ताव नै अगाडि सारेको छ ।

चार वटा रुटमा एजीटी प्रणाली तत्काल कार्यान्वयन गर्न सकिने जाइकाको गुरुयोजनामा उल्लेख छ । तीमध्ये दुई वटा रुटमा ‘पाइलट प्रोजेक्ट’ अगाडि बढाउन सकिने गरी प्रस्ताव आएको यातायात मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

केही समयअघि जाइकाका नेपाल प्रमुख जुन सुकामाले सरकारलाई काठमाडौंको यातायात प्रणालीमा सुधार गर्न एजीटी सञ्चालन गर्न सुझाव दिएको बताएका थिए ।

कलंकी-बानेश्वर-तीनकुने र जावलाखेल-महाराजगञ्ज रुटमा त्यसको सम्भाव्यता अध्ययन गर्न सकिने जापानी प्रस्ताव छ ।

चक्रपथलाई समेटेर तथा चक्रपथभित्र अर्को एउटा रुटमा एजीटी सञ्चालन गरिने गुरुयोजनामा उल्लेख छ ।

उक्त प्रणालीका लागि सडकमा ‘डेडिकेटेड लाइन’ तोक्नुपर्छ । त्यसमै बनाइने हो, पूर्वाधार ।

यो प्रणालीका सवारी साधनमा चालक आवश्यक पर्दैन, स्वचालित प्रविधि हो र अत्याधुनिक पनि ।

‘काठमाडौंमा सार्वजनिक सवारी साधन धेरै भए । समथर क्षेत्रको सडकमा यति धेरै गाडी चाहिँदैन,’ मन्त्रालयका ती अधिकारी भन्छन्, ‘एउटा बलियो इन्जिनको गाडी भए ४-५ वटा बस आफैं तान्छ र इन्धन पनि कम खपत हुन्छ ।’

मोनोरेलभन्दा यो प्रविधि सजिलो र प्रभावकारी हुने जाइकाका एक उच्च अधिकारी बताउँछन् । भन्छन्, ‘सरकार तीव्र रुपमा काम गर्ने इच्छासहित आएमा हामी सघाउन तयार छौं ।’ तर, त्यसका लागि रेल विभागजस्तै अलग्गै संरचना आवश्यक हुने उनले औंल्याए ।

Agt Map kathmandu

उक्त विषयमा जाइकासँग प्रारम्भिक छलफल मात्र भएकाले अहिले नै एजीटीबारे बोल्ने समय नआएको मन्त्रालयको वैदेशिक सहायता महाशाखा प्रमुख केशवकुमार शर्मा बताउँछन् । भन्छन्, ‘सम्भाव्यता अध्ययन नगरी हचुवाका भरमा योजना घोषणा गर्ने पक्षमा हामी छैनौं ।’

के हो एजीटी ?

अटोमेटेड गाइडवे ट्रान्जिटमा चालकको आवश्यकता पर्दैन, तर गाडीहरूलाई एउटा निर्दिष्ट बाटोमा गुडाउनका लागि छुट्टै लेन भने आवश्यक पर्दछ ।

यस्ता लेनले सडकका रूपमा ती सवारीलाई आधार मात्र नभई स्पष्ट दिशा र निर्देशन पनि प्रदान गर्दछन् ।

यसमा प्रयोग हुने सवारीहरूमा प्रायजसो रबरको टायर प्रयोग गरिन्छ । साधारणतः कुनै दोबाटो नभएका बाटामा यसको प्रयोग सहज हुने भए पनि धेरै ओटा बाटाहरू जोडिने अवस्थामा समेत सानासाना पाङ्ग्राहरू राखेर मोडिने प्रणाली विकास गर्न सकिन्छ ।

कहाँ-कहाँ सञ्चालित छन् ?

विमानस्थलभित्रै यात्रु ओसार्नेदेखि मास ट्रन्जिटका लागि समेत फरक-फरक तह र संरचनाको यसको उपयोग भइरहेको छ । साना तहमा विश्वका धेरै विमानस्थलहरू अम्युजमेन्ट पार्कहरूमा यस प्रणालीको प्रयोग भएको छ ।

क्यानाडाको टोरन्टो र भ्यान्कुभर, अमेरिकाको लस भेगास तथा बेलायतको लन्डन लगायतका सहरमा यस प्रविधिमा आधारित ठूला स्तरका सार्वजनिक यातायात प्रणाली सञ्चालनमा छन् ।

कस्तो हुन्छ एजीटी भिडियो पनि हेर्नुहोस्




Top