logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

विषादीको प्रयोग घटाउने अभियानमा कृषक

वि.सं १९ जेष्ठ २०७६, आईतवार १६:३४
Blog single photo

विषादीको प्रयोग घटाउने अभियानमा कृषक

दुर्गा देवकोटा, लम्की, १९ जेठ: कैलालीका कृषकहरु मानव स्वास्थ्यका लागि खतरनार्का मानिएको रासायनिक विषादीको प्रयोग कम गर्न थालेका छन् । उनीहरुले रासायनिक विषादीको सट्टा जैविक (घरेलु) विषादी तथा झोल मलको प्रयोग गर्न थालेका हुन् । रासायनिक विषादी र मलको प्रयोगमा न्यूनीकरण, शत्रुजीव नियन्त्रण तथा मित्रजीव संरक्षण गरी स्वस्थ बाली उत्पादन गर्न उनीहरु लागिपरेका हुन् ।

टीकापुर नगरपालिकामा २०५ कृषक समूह छन् जसमा १७५ वटा महिला कृषक मात्रै भएका समूह छन् । महिला कृषक मात्रै भएका समूहमा ३ हजार ४८५ महिला आबद्ध छन् । यिनीहरु सबैले शत्रुजीव नियन्त्रण तथा मित्रजीव संरक्षण गरी स्वस्थ बाली उत्पादन गर्ने गरेको कृषि सेवा केन्द्र टीकापुरले जनाएको छ । शत्रु जीव नियन्त्रणमा महिला कृषक समूहको भूमिका अग्रणी रहेको छ ।

एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएपछि कृषकहरु घरेलु विषादी तथा आफैंले झोल मल बनाई प्रयोगमा ल्याउन थालेका छन् । विसं २०६९ देखि टीकापुरमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको हो । शुरुमा छ कठ्ठा जमीनमा आइपिएम पाठशाला सञ्चालन गरिएको थियो । हाल आएर १० हेक्टरभन्दा बढी जमीनमा कृषक पाठशाला सञ्चालन गरिएको छ ।

विगतका वर्ष जिल्ला कृषि कार्यालय मार्फत शुरु भएको कृषक पाठशाला ५ वर्षदेखि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले गरिरहेको छ । “कृषक पाठशाला भनेको विद्यालय जस्तै हो, विद्यालयमा पनि धेरै पढ्छन् तर, उत्कृष्ट थोरै विद्यार्थी हुन्छन्,” कृषि अधिकृत गौरीशंकर गुप्ताले भन्नुभयो – “यहाँ पनि पाठशालामा सहभागी केही किसान उत्कृष्ट भएका छन् । बाँकीले आफूलाई आवश्यक पर्ने तरकारी आफैंले उत्पादन गरेर खानेसम्म गरेका छन् ।”
छ वर्षअघि आइपिएम पाठशालामा सहभागी हुनुभएकी टीकापुर आम्बासाकी फूलमती चौधरीको हाल मासिक आम्दानी ३५ हजार रुपैयाँ हुन्छ । चौधरीले १८ कठ्ठा जमीनमा तरकारी खेती गर्नुहुन्छ । उहाँको आठ कठ्ठा जमीन छ । बाँकी १० कठ्ठा भाडामा लिएर मौसमी तथा बेमोसमी तरकारी खेती गर्नुहुन्छ । “तरकारी किन्ने घरमै आउँछन्, रासायनिक विषादी विनाको तरकारी दुई रुपैयाँ महङ्गोमा बेचे पनि लिनेको लाइन लाग्छ,” उहाँले भन्नुभयो – “पाठशालामा सहभागी भएपछि मेरो जीवन फेरियो । घरपरिवार सबैले काम पाएका छन् । कहिलेकाहीँ अरुलाई पनि रोजगारी दिन्छु ।”

टीकापुर बन्दिरपुरकी गुलावी चौधरीको पनि मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । उहाँले रासायनिक विषादीको प्रयोग गर्न छोड्नुभएको छ । पाठशालामा सहभागी हुनुअघि रासायनिक विषादीको मात्रै प्रयोग गर्ने गुलावी अहिले जैविक विषादी मात्रै प्रयोग गर्नुहुन्छ । गर्नै परे पनि झोल मल हाल्ने गरेको उहाँ बताउनुहुन्छ ।

आइपिएम कृषक पाठशालाबाट रासायनिक मल र विषादीको प्रयोगबाट हुने असरबारे जानकारी पाएपछि घरेलु विषादी र मल उत्पादन गर्न थालेको टीकापुर–२ स्थित असल आमा आइपिएम कृषक पाठशालाका अध्यक्ष सुशीला चौधरीले बताउनुभयो । “पहिलेदेखि परम्परागत खेती गर्दै आएका थियौं, बाली बिरुवामा रोग कीरा देखा परे रासायनिक विषादीको प्रयोग गरिन्थ्यो जसले स्वास्थ्य मात्र हैन वातावरणमा समेत असर पार्दो रहेछ,” चौधरीले भन्नुभयो – “अब रासायनिक नभई घरायसी विषादीको प्रयोेग गर्न थालेका छौ ।”

टीकापुर नगरपालिकाले यस वर्ष नौ ठाउँमा कृषक पाठशाला सञ्चालन गरेको छ । गत वर्ष विभिन्न स्थानमा गरी आठ वटा कृषक पाठशाला सञ्चालन गरिएको थियो । नगरपालिकाले काउली, आलु, टमाटर बालीमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेको थियो ।

जैविक विषादीको प्रयोग गरी यहाँ उत्पादन गरिएको तरकारी टीकापुर बजारसहित नारायणपुर, बटनपुर, लम्की, राजापुर बजारसम्म जाने गरेको छ । टीकापुरमा उत्पादित धेरैजसो लहरे तरकारी बाहिरी जिल्लामा जान्छ । यस वर्ष टीकापुरमा उत्पादन भएको काँक्रा मात्रै २० हजार क्विन्टल बाहिरी जिल्लामा गएको कृषि शाखाले जनाएको छ ।

कृषि प्रविधिज्ञ रामनारायण चौधरीले समूहमा आबद्ध भएका उनीहरुले रासायनिक विषादीको न्यून प्रयोग गरी स्वस्थ बाली उत्पादन गर्नुका साथै मानव स्वास्थ्यमा पार्ने असर कम गर्न कृषक पाठशाला सञ्चालन गरिआएको बताउनुभयो । “सबै किसानलाई एकैपल्ट अर्गानिक, घरेलु विषादी र झोल मलको प्रयोग गराउन सकिँदैन,” उहाँले भन्नुभयो – “निश्चित किसानलाई सिकाएर गाउँघरका अन्य सदस्यलाई सिकाउन कृषक पाठशाला सञ्चालन गरिएको हो ।”

सो¥ह हप्तासम्म सञ्चालन हुने कृषक पाठशालामा प्रत्येक समूहमा २५ अगुवा कृषक सहभागी हुन्छन् र मौसम अनुसारका तरकारी खेतीमा कृषक पाठशाला सञ्चालन गरिन्छ । आइपिएम कृषक पाठशालामा किसानहरुलाई तरकारी बालीमा प्रयोग गर्ने घरेलु विषादी र झोल मल बनाई प्रयोग गर्ने तरीकाका बारेमा स्थलमै प्रत्यक्ष खेती गरेर सिकाइन्छ । किसानलाई लहरे तरकारीमा अभ्यास गराउने, विभिन्न कीराको प्रकोप, समस्या पहिचान, नियन्त्रणका साथै शत्रु जीव व्यवस्थापनबाट फलाइएको तरकारीको परीक्षण गर्ने गरिएको छ ।

बजारमा रहेका विभिन्न रासायनिक मल र विषादीको प्रयोग र त्यसका दुष्प्रभावबारे किसानलाई जानकारी दिने गरिन्छ । विषादीको सबैभन्दा बढी असर महिलालाई पर्ने भएकाले महिला समूहहरुलाई अझ बढी रासायनिक विषादीको प्रयोग घटाउन अग्रसर बनाइएको छ ।

आइपिएम कृषक पाठशालामा किसानको घर खेतमा पाइने विभिन्न झारपातको सम्मिश्रण गरी घरेलु विषादी र झोल मल तयार पारिन्छ । विषादीका लागि पशुको गहुत, निमको पात, बकाइनोको पात, खुर्सानी, लसुन, प्याज, भाङ, धतुरो, मेवाको पात, असुरोका पातलगायत समिश्रण गरिन्छ । घरेलु विषादी मिश्रणपछि गर्मी समयमा १५ दिनमा र जाडोमा १ महिनामा तयार हुन्छ ।

घरेलु विषादी बनाएको ६ महिनासम्म प्रयोगमा ल्याउन सकिन्छ । घरेलु विषादी बाली विरुवालाई रोग कीराबाट बचाउन मात्रै प्रयोग हँंदैन, झोल मलको रुपमा समेत काम गर्छ । यसले बाली बिरुवा स्वस्थ रहन्छ र उत्पादन राम्रो हुन्छ ।

टीकापुर–४ ठानापुरका छवि चौधरीले घरेलु विषादी जस्तोसुकै बाली बिरुवामा पनि सहज रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । “घरेलु विषादीलाई १६ लिटर पानीमा २ लिटरको दरले प्रयोग गर्न सकिन्छ । यसले कीरा मार्नु भन्दा नियन्त्रणको काम गर्ने उहाँको अनुभव छ ।

लामो समयसम्म खेतमा विभिन्न रासायनिक विषादीको प्रयोग गर्दै जाँदा अहिले विषादीपाचक कीराहरुको विकास भैरहेको छ । यिनीहरुको नियन्त्रणका लागि किसानहरु विभिन्न खाले कडा रासायनिक विषादीको प्रयोग गर्ने गर्दछन् । टीकापुर–२ की कृषक आशा चौधरीले अहिले रासायनिक विषादीको प्रयोगलाई कम गर्दै जानुभएको छ । “घरेलु विषादीले मात्र बाली बिरुवालाई संरक्षण गर्न नसकिने भएकाले गर्नै परे नरम प्रकृतिका विषादी प्रयोग गर्छु,” आशाले भन्नुभयो – “बाली बिरुवामा रोग कीराको प्रकोपको अवस्थाअनुुसार घरेलु विषादीको प्रयोग गरिरहेको छु ।”
कृषक पाठशाला सञ्चालन पछि महिला कृषकले ८५ प्रतिशत रासायनिक विषादीको प्रयोग घटाएका छन् । उनीहरुले आवश्यक परेपछि १५ प्रतिशत मात्रै झोल विषादी प्रयोग गर्ने गरेका छन् । पाठशाला सञ्चालन पछि जैविक विषादी प्रयोग गरेका किसानले उत्पादन पनि बढी लिन थालेका छन् । तीन कठ्ठा जमीनमा १४ क्विन्टल आलु उत्पादन भएको मनिकापुरका तुलराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो – “गत वर्ष ३ किलोसम्मका काउली फले । जैविक विषादी बनाउन झण्झट भएपनि उत्पादन धेरै हुने गरेको छ ।”

गत वर्ष रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोगमा ८४ स्थानमा शत्रुजीव व्यवस्थापन कृषक पाठशाला सञ्चालन गरिएको थियो । उनीहरु सबैले जैविक विषादीकै प्रयोगमा खेती गरिरहेका छन् । आयोजनाले यस वर्ष आइपिएम कार्यक्रमलाई निरन्तरता नदिए पनि कृषकलाई प्राविधिक ज्ञान, तालीम, कृषि औजार सहयोग जस्ता कार्य गरिरहेको छ ।



Top