परम्परागत आरन पेशाबाट आधुनिक उद्योग

0
सांकेतिक तस्बिर
Advertisement

परम्परागत आरन पेशाबाट आधुनिक उद्योग

भरत केसी

बुटवल, १५ असार: बुटवल उपमहानगरपालिका–५ का कृष्ण विश्वकर्माले विगत डेढ दशकदेखि आरन पेशा सञ्चालन गर्दै आउनुभएको छ । उहाँको आरन उद्योगमा दैनिक पाँच जनालाई रोजगारी दिनुहुन्छ । उक्त व्यवसायबाट उहाँले राम्रो आम्दानी पनि गर्दै आउनुभएको छ ।

कृष्णले बुटवल–५ स्थित तिनाउ किनारमा रहेको सुकुम्वासी बस्तीमा रहेको आफ्नै घरमा विसं २०५९ देखि परम्परागत पेशाका रूपमा यो व्यवसाय चलाउँदै आउनुभएको हो । उहाँले फलामलाई आगोमा तताएर घनले पिटेर कृषि तथा घरेलु औजार उत्पादन गर्ने र साताको दुईपटक लाग्ने साप्ताहिक हाटबजारमा बेच्ने गर्दै आउनुभएको छ ।

परम्परागत आरनबाट यस्ता फलामे औजार बनाउँदा लागत, समय र मेहनत बढी लाग्ने बुझेर उहाँले उक्त उद्योगलाई यान्त्रिकीकरण गर्दै उद्योगको रुपमा स्थापना गर्नुभएको छ । परम्परागत प्रविधिलाई आधुनिकीकरण गर्न उहाँलाई आफ्नै वडाका अध्यक्ष तेजप्रसाद सुनार र दलित समुदायले सञ्चालन गरेको विश्वज्योति सहकारी संस्थाले प्रोत्साहित गरेको हो । उहाँले अब कृषि तथा घरेलु हतियार बनाउने काम हातले घन पिटेर होइन, विद्युतीय मेसिनबाट गर्नुहुनेछ ।

स्थापनाकालमा रु एक हजार ५०० को लगानीबाट परम्परागतरूपमा शुरु गरेको आरन उद्योग अहिले आधुनिक प्रविधिका मेसिन जडान गर्दा अहिले लगानी करीब रु १५ लाखभन्दा बढी पुगेको कृष्ण आरनका सञ्चालक कृष्ण विक बताउनुहुन्छ । यसका लागि उहाँले विश्वज्योति सहकारीबाट मासिक ब्याजमा रु चार लाख ऋण लिनुभएको छ । उद्योगमा मेसिन जडानलगायत कामका लागि बाँकी आफँैले लगानी गर्नुभएको हो ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ फलाम बजारमा कवाडी सङ्कलन केन्द्रबाट खरीद गर्नुहुन्छ । उत्पादित सामान बिक्री गरेर उहाँले दैनिक रु तीन हजार बचत हुने बताउनुहुन्छ । “कवाडीबाट पुराना फलामका टुक्रा ल्याउँछु, नयाँ सामान बनाएर बजारमा बिक्री गर्छु”, कृष्णले भन्नुभयो ।

कृष्णलाई आफूले उत्पादन गरेका फलामका सामग्री बिक्रीका लागि बजारको कुनै समस्या छैन । “सामान बनाएर हाटबजारमा बेच्छु, अरु समय हाटबजारकै व्यापारीका पसलमा पु¥याउँछु । बजारले मागे जति पु¥याउनै सकेको छैन”, उहाँले भन्नुभयो, “अब मेसिनले बनाउन थालेपछि बजारमा पु¥याउन सकिन्छ ।”

उहाँले आरनबाट हसिया, चुलेसी, चक्कु, करौती, बन्चरो, कुकुरी, कुर्पाजस्ता घरेलु कामका लागि आवश्यक पर्ने साना हतियार र कृषि कामका लागि आवश्यक पर्ने कुटो, कोदालो, फरुवा, खुर्पीलगायतका वस्तुहरु बनाएर बजारमा पु¥याएर बिक्री गर्दै आउनुभएको छ ।

कृष्णले आफ्नो जस्तै यस्ता साना उद्योगका लागि सरकारले लगानीका लागि सस्तो र सरल कर्जाको व्यवस्था गरिदिए हुने बताउनुहुन्छ । सरकारले लगानीका लागि सरल कर्जा व्यवस्था गरिदिने हो भने सामान बनाउने र बजार खोज्न समस्या पर्दैन, हामी आफैँ बिक्री गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।

बुटवल उपमहानगरपालिकाले यस्ता साना लगानीका घरेलु उद्योगलाई प्रोत्साहित गर्न आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि लक्षित समुदायको मूल प्रवाहीकरण, क्षमता विकास, संरक्षकत्व, अभिभावकत्व, सामाजिक परिचालन, टोल विकास संस्था, सामाजिक सङ्घसंस्थासँगको समन्वय, सहकार्य तथा परिचालन सामाजिक, सांस्कृतिक, विभेदविरुद्धका कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले यसका लागि आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कार्यक्रमका लागि भन्दै करीब रु २६ करोड अर्थात् कूल बजेटको १३.६८ प्रतिशत बजेट विनियोजन गरेको छ ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले यस खालका कृषि तथा घरेलु औजारका सामग्रीको उत्पादन गर्ने लोप हुने अवस्थाका साना उद्योगलाई आधुनिकीकरण गर्ने उपमहानगरपालिकाले कार्यक्रम अगाडि सारेको बताउनुहुन्छ । उपप्रमुख आचार्यले उपमहानगरपालिकाले यस्ता उद्योगलाई प्रोत्साहन गर्ने, उद्योगका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा सीपमूलक तालीम सञ्चालन गर्ने बताउनुभयो ।

बुटवल उपमहानगरपालिका–५ का अध्यक्ष तेजप्रसाद सुनारले यस्ता खालका पेशालाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्दा स्वरोजगारमा परिणत गर्न सकिने बताउनुहुन्छ । परम्परागत ज्ञान, सीप, क्षमतालाई थप आधुनिकीकरण गरी व्यावसायिक बनाउन यस्ता पेशामा लागेकालाई तालीमसहित व्यवसाय सञ्चालनका लागि अनुदान र बजारको व्यवस्था हुनसके रोजगारी र सीपसहितको दक्ष जनशक्तिको विकास हुन्छ ।

प्रदेश नं ५ सरकारले पनि यस्ता खालका परम्परागत उद्योगलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने गरी आगामी आर्थिक वर्षमा कार्यक्रम अगाडि बढाउने गरी बजेटमै व्यवस्था गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा दलित समुदायले परम्परादेखि अँगाल्दै आएको परम्परागत शील्प व्यवसायको प्रवद्र्धन गर्न भगत सर्वजीत शील्प व्यवसाय प्रवद्र्धन कार्यक्रमका लागि रु दुई करोड विनियोजन गरेको छ ।

Facebook Comments

Advertisement