logo
  • Thursday, August 13, 2020
  • वि.सं २९ श्रावण २०७७, बिहीबार

नेपाल आयल निगमलाई एक वर्षमा तीन अर्ब नाफा

वि.सं १४ श्रावण २०७५, सोमबार १२:५८
नेपाल आयल निगमलाई एक वर्षमा तीन अर्ब नाफा

नेपाल आयल निगम लाई एक वर्षमा तीन अर्ब नाफा

इन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगम ले एक वर्षमा तीन अर्ब रुपैयाँ नाफा कमाएको छ । इन्धन कारोबार गरेर निगमले आर्थिक वर्ष २०७४-७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको हो ।
अघिल्लो वर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो वर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नाफा रकम घटेको हो । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा खरिद मूल्य बढ्न जाँदा नाफा रकम कम भएको बताए । यो वर्ष अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य ५० प्रतिशतले बढेकाले पनि नाफा रकम बढ्न नसकेको उनको भनाइ छ ।

निगमले इन्डियन आयल कर्पाेरेसन (आइओसी)बाट इन्धन खरिद गरेर स्थानीय बजारमा वितरण गर्दै आएको छ । गतवर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकोे मूल्य प्रतिब्यारेल ४५ देखि ५० डलर रहेकोमा यो वर्ष बढेर ७५ देखि ८० डलर पुगेको छ । जसका कारणले नाफा रकम बढ्न नसकेको निगमको भनाइ छ । निगमले खरिद मूल्यमा विभिन्न शीर्षकका शुल्क कटाएर उपभोक्तालाई बिक्री मूल्य निर्धारण गर्ने गर्छ । यो वर्ष निगमले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको २७ लाख किलोलिटर इन्धन खरिद गरेको थियो । सो बापत निगमले ३ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको हो । पछिल्लो समय निगमले इन्धनमा स्वचालित मूल्य लागू गरेसँगै नाफा कमाउन थालेको हो ।
अन्तर्राष्ट्रिय बजारअनुसार स्थानीय बजारमा मूल्य समायोजन थालेपछि लामो समयदेखि घाटामा रहेको निगमले पछिल्लो समय नाफा कमाउँदै आएको छ । निगमले नाफा रकमलाई बोनस शेयरमा रुपान्तरण गरी चुक्ता पुँजी बढाएको छ । निगमले ३६ औं वार्षिक साधारणसभामार्फत बोनस सेयर जारी गरेर चुक्ता पुँजीलाई बढाएर ११ अर्ब रुपैयाँ पु-याउने निर्णय गरेको छ । यसअघि निगमको चुक्ता पुँजी २९ करोड २३ लाख रुपैयाँ मात्र थियो । डेढ खर्ब रुपैयाँको इन्धन कारोबार गर्ने निगमको चुक्तापुँजी कम भए पनि नाफा रकमलाई बोनस सेयरमार्फत पुँजी बढाउन लागेको हो । हाल निगममा ९९ प्रतिशत सेयर नेपाल सरकारकै छ । जसमा अर्थ मन्त्रालयको ७३ दशमलव ४१ प्रतिशत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको २० दशमलव ३२ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ५ दशमलव ७३ प्रतिशत सेयर हिस्सा छ । त्यस्तै, नेसनल ट्रेडिङ लिमिटेडको ० दशमलव २६, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको ० दशमलव १५, नेपाल बैंक लिमिटेडको ० दशमलव ८ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ० दशमलव ५ प्रतिशत सेयर हिस्सा छ ।
निगमले आर्थिक वर्ष २०७२-७३ मा ९ अर्ब ५ करोड रुपैयाँ कमाएको थियो । यस्तै आव २०७१-०७२ मा १५ अर्ब ४ करोड रुपैयाँ नाफा भएको थियो ।
निगमका अनुसार आर्थिक वर्ष २०७३-७४ मा १ खर्ब ८ अर्ब ९५ रुपैयाँ बराबरको २२ लाख २९ हजार ७ सय ४० किलोलिटर इन्धन आयात भएको थियो । यस्तै आव २०७२-७३ मा भारतले गरेको नाकाबन्दीका कारण आयातमा कम भई ५८ अर्ब ९४ करोड रुपैयाँ बराबरको १३ लाख ३९ हजार १ सय ७७ किलोलिटर इन्धन आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७१-७२ मा १ खर्ब ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको १६ लाख ३३ हजार ३ सय ३७ किलोलिटर इन्धन आयात भएको थियो । निगमका अनुसार आव २०७०-७१ मा १ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँ बराबरको १४ लाख ४९ हजार ९ सय ३५ किलोलिटर इन्धन आयात भएकोमा आर्थिक वर्ष २०६९-७० मा १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ बराबरको १२ लाख ९८ हजार ५ सय ६६ किलोलिटर इन्धन आयात भएको थियो ।



Loading...
loading...

Top