सरकार र राप्रपाबीच वार्ता सम्पन्न : धर्म निरपेक्षताबारे गरीएन छलफल 

Advertisement

सरकार र राप्रपाबीच वार्ता सम्पन्न : धर्म निरपेक्षताबारे गरीएन छलफल

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच मंगलबारको वार्ता सकिएको छ । धर्म निरपेक्षता खारेजी लगायतका २२ बुँदे माग राखेर आन्दोलनरत राष्टिय प्रजातन्त्र पार्टी र सरकारबिच याे पहिलाे वार्ता रहेकाे छ ।

राप्रपाका तर्फबाट वार्ता टोली संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुन छलफल गर्ने सहमति गर्दै आजको वार्ता सकिएको बताए । ‘आज हामीले २२ सूत्रीय मागका विषयमा कुरा राख्यौं, सरकारले पनि तपाईहरुले उठाउनुभएको धेरै कुरामामा विचार गर्छौं भनेको छ, धर्म निरपेक्षता खारेजी, गोलमेच सम्मेलनजस्ता नीतिगत विषयमा पुनः छलफल गर्ने सहमति भएको छ’ वार्तापछि बोहराले भने ।

वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेका थिए । वार्तापछि पत्रकारसँग कुरा गर्दै उनले संविधानमा भएका व्यवस्थामा सरकारले सम्झौता नगर्ने भन्दै संविधानको व्यवस्था अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेको बताएका छन् । अर्को बैठकको मिति नतोके पनि ४/५ दिनमा बस्ने उनले बताए । सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।

वार्तामा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वरिष्ठ नेता दीपक बोहरा र निरञ्जन थापा सहभागी भएका थिए ।

Facebook Comments