द नाइट हन्टर ” The Night Hunter ” written by Ritesh Gurung

0
359
द नाइट हन्टर

द नाइट हन्टर ” The Night Hunter ” written by Ritesh Gurung

रितेश गुरुङ

द नाइट हन्टर -चिसो हावाको दौड प्रतियोगिता सुरु भै’सकेको छ !
दिनभरि आकाशमा पौडिएको पहेँलो सुर्य थाकेर होला, बिस्तारै बिस्तारै गुलाबी हुँदै क्षीतजमा डुब्दैछ !

मौसम सुहाना छ- ठ्याक्कै मेरो सदाबहार हजुरबुबा जस्तै !
शिकार गर्नको लागि एकदम सुहाउँदो छ, आजको सुहाना मौसम !

म हजुरबुबाको कोठामा पस्छु ।
हजुरबुबा हुक्का तान्दै गरेको देख्छु । आफ्नै मुखबाट फुस्किएको धुवाँमा गम्भीर भएर खोइ कुन्नी के खोज्दैहुनुहुन्छ ।

कहिलेकाहीँ मलाई हजुरबुबा एकदमै रहस्यमयी लाग्छ । अपरिचित लाग्छ । कठिन लाग्छ । गम्भीर लाग्छ ।
यो सत्य हो, हामी सबैभन्दा धेरै संगत गर्ने मान्छेलाई नै कहिलेकाहीँ राम्रोसँग चिन्न सक्दैनौं । बुझ्न सक्दैनौं ।

सानो छुदै आमाबुबाको देहान्त पछि म हजुरबुबाको छत्रछायामा हुर्किए । उहाँले नै कोरिदिनुभएको परिधिभित्र आफुलाई बढाए । तिक्ष्ण बनाए । बलियो बनाए ।
सबै मान्छेहरु यहीँ भन्ने गर्छन्- म बुबा जस्तै होइन, हजुरबुबा जस्तै छु रे ! बेला कुबेला आफुलाई तुलना पनि गरि हेर्छु हजुरबुबासंग । त्यतिबेला ओठबाट गर्भको मुस्कान चुहाउदै कराउने गर्छु- ‘हो ! म हजुरबुबा जस्तै छु !’

“सिकार गर्नको लागि उपयुुक्त मौसम छ आज,” म हजुरबुबाको नजिक जान्छु ।

म तिर हेर्दै नहेरी भन्नुहुन्छ, ” म निकै थाकेको छु नाती, आज नजाम !”

यो भन्दा पहिले उहाँले यसरी अरुची कहिलै देखाउनु भएको थिएन । मलाई लाग्न थाल्छ, सायद अब हजुरबुबा बूढो हुनुभो, कमजोर हुनुभो । शिकारी मान्छे अब आफैं बिस्तारै समयको सिकार हुँदै जानुभो ।

धेरै पहिले एक रात ब्वासोहरुको झुन्डले हाम्रो घरमा हमला गरेको थियोे । त्यहीँ झम्टाइमा मैले आमाबुबा गुमाएको थिए ।
म सानो थिए, त्यो बेला । हजुरबुबाले कसो कसो मलाई जोगाउनु भएको थियोे, बचाउनु भएको थियोे ।
त्यसैले त म अहिले जिवित छु, ब्वासोहरुको सिकार गर्ने गर्छु यस्तै सुहाना समयमा हजुरबुबासंग !

कर गरेर हजुरबुबालाई मनाउछु । बोक्छौ एउटा- एउटा बन्दुक र सोझिन्छौ जङ्गलतिर ।
बिस्तारै चारैतिर अन्धकार छाउदैछ । जङ्गल झन् अन्धकार छ, कालो छ, गहिरो छ, भयानक छ । हामीलाई जङ्गलले बिस्तारै निल्दै जान्छ । हामी जङ्गलको गहिराईमा डुब्दै जान्छौं ।

ब्वासोहरुको कराइ सुनिन थाल्छ- ‘हाउ…….हाउ…..’
बन्दुक र कान दुबै चनाखो बनाउछौ हामी । हजुरबुबा एउटा बाटो लाग्नुहुन्छ म अर्को ।
आकाशमा जुन उदाउँदैछ । म ब्वासोको गन्ध सुँघ्दै अगाडि बढ्छु ।

यहीँ जङ्गलमा थुप्रै शिकारीहरु आफैं शिकार भएका छन् ।
हजुरबुबाले बेला बेला मलाई यस्तै किस्साहरु सुनाउनुहुन्थ्यो ।
म चाख मानेर सुन्थे ।
हजुरबुबा जसरी अझै पनि म शिकार गर्न जान्दिन ।
मेरो अक्सर निसाना चुक्ने गर्छ ।

‘ड्याम्म…..’
गोलि चल्छ । म त्यहीँ आवाज आए तिर दौडेर जान्छु ।
हजुरबुबा लखेट्दै हुन्छ, घाइते ब्वासोलाई । म पनि पछि पछि दौडिन्छु ।

” खुट्टामा लागेको छ गोलि, ” हजुरबुबा म तिर नफर्कीकनै भन्नुहुन्छ ।

ब्वासोको पछि हजुरबुबा र हजुरबुबाको पछि म दौडिन्छु ।
घाइते ब्वासो घना अन्धकार झाडी भित्र पस्छ, हजुरबुबा पनि त्यही भित्र हराउनुहुन्छ ।
हजुरबुबा र ब्वासो, एकैछिनमा मेरो आँखाबाट ओझेल हुन्छन् ।
म आत्तिन्छु, डराउछु, कराउछु ।
हजुरबुबालाई बोलाउछु । यताउति हेर्छु । कहिँ देख्दिन ।
केहि देख्दिन ।

पुर्णिामाको रात ! चारैतिर उज्यालो चुहिएको छ ।
गहिरो जङ्गलमा म हजुरबुबालाई खोजिरहन्छु ।
‘कत्तै ब्वासोले नै …?’
यस्तै अन्धकार त्रासले छोप्न थाल्छ मलाई ।

ब्वासोहरुको कराइ झन् बाक्लिदै जान्छ । अरु जनावरहरु हिंडेको, कुदेको, कराएको प्रस्टै सुनिन थाल्छ ।

‘ङररररररर……’
पछाडीबाट ब्वासो घुर्छ । मेरो शरीर काप्न थाल्छ ।
हातमा रहेको बन्दुक लड्खडाउन थाल्छ । डराउदै पछाडि फर्किन्छु ।

ब्वासोको आँखा टल्किरहेको हुन्छ । लामा, तिखा सफेद दाँतहरु भोका देखिन्छन् ।
घुर्दै बिस्तारै म तिर आउन थाल्छ । मेरो पाइला पछि पछि हट्दै जान्छ । ‘आज कि यो छ, कि म !’ मुटु दर्हो बनाउछु ।
बन्दुक त्यर्साउछु ब्वासो तिर । ब्वासो झन् आक्रमक भएर दौडिदै आउँछ ।

मेरो औंलाले बन्दुकको ट्रीगर दबाउछ ।
“ड्याम्म……”

ब्वासो मेरो अगाडि पछारिन्छ । नजिकै गएर फेरि अर्को गोलि दबाउछु । ब्वासो चलमलाउन अलि कम हुन्छ ।
म फेरि बन्दुक त्यर्साउछु त्यो माथी ।
घाइते ब्वासो अनौठो आवाज निकालेर कराउन थाल्छ, रुन थाल्छ । मलाई माया लाग्दैन, दया जाग्दैन ।
म केही बेर हेरिरहन्छु त्यसको छट्पटाहट, सुनिरहन्छु त्यसको रोदन मिसिएको चीत्कार ।

ब्वासो हेर्दाहेर्दै कराउदै, खुम्चिदै हजुरबुबामा परिणात हुन्छ ।
मेरो हातबाट बन्दुक भुइँमा खस्छ । मेरा आँखाहरु तर्सिन्छन् ।

“ना…..ति….”
म रगत्ताम्मे हजुरबुबालाई आफ्नो काखमा आड दिन्छु ।

हजुरबुबाको ओठ बिस्तारै हल्लिन थाल्छ, ” माफ गरि….. दे..उ… मलाई…. !”

मेरो आँखाबाट आँसु झर्न थाल्छ । हजुरबुबा भन्दा बढी सकस मलाई हुन थाल्छ ।

हजुरबुबा अड्किदै भन्नुहुन्छ, ” नाति…… तिम्रो आमाबुबालाई मा…..र्ने.. हत्या..रा… ब्वासो मै नै हुँ ….. ”

मेरो कान टु……. बज्न थाल्छ ।
केही समयमा हजुरबुबाको सास चल्न छोड्छ ।

जुनको उज्यालोमा म हजुरबुबाको शरीरलाई च्यापेर कराइरहन्छु, रुइरहन्छु, चिच्याइरहन्छु ।

हजुरबुबाले एकपटक सुनाउनु भएको किस्सा सम्झन्छु ।
“भेडिया, ब्वासोले कुनै मान्छेलाई टोक्यो भने त्यो मान्छे पनि त्यस्तै भेडिया, ब्वासोमा परिणत हुन्छ पुर्णिामाको रात । त्यस्तो अवतारलाई नरपशु, नरपिचाश भनिन्छ ।

Facebook Comments

Loading...