घामसँगै अस्ताउँछन् दुर्गमका टेलिफोन सेवा

0
टेलिफोन सेवा
Advertisement

घामसँगै अस्ताउँछन् दुर्गमका टेलिफोन सेवा

संखुवासभा। विद्युत् विस्तार नभएका कारण दुर्गममा रहेका सातवटा विटिएस टावरमार्फत हुने सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको छन्। संखुवासभाका दुर्गम गाउँहरुमा रहेको नेपाल टेलिकमको विटिएस टावर अझै सोलारपावरको भरमा चलिरहेका छन्।

कुनै एक चिज एक क्लिक गर्ने क्रममा संसार भर पुग्छ, संसारका मानिसहरुले हेर्न सक्छन्। तर संखुवासभाका दुर्गम भेगका नागरिकमा भने यो सुन्दा अचम्म लाग्छ, त्यहाँ इन्टरनेटको त कुरै छाडौ, घाम नलाग्दा फोन समेत गर्न पाइँदैन।  उत्तरी क्षेत्रमा विधुत् लाइन नहुदाँ नेपाल टेलिकमका मोवाइल प्रयोग गर्ने ग्राहकले मौसमको भरमा सेवा पाउने गरेका छन्। दिनभर घाम लागेन भने सोलार चार्च नभएका कारण सेवाग्राही मोवाईल सेवा सञ्चालनमा बन्द हुने गरेको छ।

वेलुकी घाम अस्ताएपछि विहान ९ बजे भन्दा अघि दुर्गम नागरिकले सञ्चारबाट विच्छेद हुने गरेको छ। त्यति मात्र होइन कहिलेकाहिँ त दुईचार दिनसम्म पनि मौसम खराब हुने गर्दछ।  उत्तरी क्षेत्र किमाथांका नाकामा रहेको टावरमार्फत २४ घण्टा सेवा प्रवाह नहुने भए पछि किमाथांका वासी छिमेकी देश चिनको सिमकार्ड प्रयोग गर्न बाध्य छन्।

सोलारका भरमा रहेका विटिएस टावरहरू रहेको स्थानमा व्याट्री पुरानो भएकाले पनि समस्या भएको नेपाल टेलिकम खाँदबारी शाखाका प्रमुख राधारमण भट्टराईले जानकारी दिए। उनले भने, ‘व्याट्री पुरानो भएको र लामो समयसम्म काम गर्न छाडेको भनी क्षेत्रलाई जानकारी गराए पनि नयाँ व्याट्री क्षेत्रले पठाएको छैन।’ क्षेत्रले नयाँ व्याट्री पठाए पनि घामको भरमा मात्र २४ सैं घण्टा भने सेवा प्रदान गर्न सकिँदैन।

जिल्लाका छ स्थानका विटिएस टावर सोलरबाट मात्र सञ्चालन हुँदै आएका छन्। चिचिला गाउँपालिकाको छ्याङ्कुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले, भोटखोलाको गाउँपालिकाको माक्पालुङ, सिलिचुङ गाउँपालिकाको रमितेमा सोलारपावरको भरमा विटिएस प्रणालीमार्फत मोवाइल नेटवर्क सञ्चालन गरिदै आएको छ।  भोटखोला गाउँपालिकाको किमाथांकामा रहेको टावर प्रत्यक्ष भिसेट(स्याटेलाइट) मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख भट्टराइले जानकारी दिए।

त्यसैगरी नेपाल टेलिकम संखुवासभामार्फत नै भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सोलारकै भरमा विटिसमार्फत मोवाइल सेवा प्रदान गरिरहेको छ। खाँदबारी शाखालेनै भोजपुरको दिङ्लामा पनि ल्याण्डलाइन फोन वितरण गरेको छ। जिल्लामा करिब ७ स्थानका टावरमार्फत एनसिएल कम्पनीले मोवाइल सेवा प्रबाह गरिरहेको छ। खाँदबारी शाखाले भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रबाह गरिएको छ। शाखाले जिएसएम ८, सिडिएमए ५ र ल्याडलाइन सेवा ५ स्थानबाट सञ्चालन गरिरहेको छ।

Loading...

खाँदबारी शाखाबाटै भोजपुरका षडानन्द नगरपालिकाको दिङ्लामा ल्याण्डलाइन सेवा, षडानन्दकै झ्याउँपोरी र साल्पासिलिछो गाउँपालिकाको कुलुङ्मा जिएसएम सेवा प्रदान गरेको छ। शाखाले १९२ बाट ल्याण्डलाइन फोन वितरण गरेको छ। सबैभन्द धेरै खाँदबारीमा १ हजार १८० जना ग्राहक रहेका छन्। ल्याण्डलाइन वितरण भएका स्थानहरू शाखाले एडिएसएल सेवा समेत वितरण गरेको छ।

Facebook Comments

Loading...