“I AM SNOWMAN” म हिममानव हुँ ! – रितेश गुरुङ

0
Advertisement

“I AM SNOWMAN” म हिममानव हुँ ! – रितेश गुरुङ

रुम / कोठा नम्बर – २१०

घडिले रातको बार्ह {१२} बजाएको छ । चिसोले पनि बार्ह {-१२°c} बजाएको छ । हिटरले हिट / ताप दिईरहेको छ । मैले हिट / ताप लिईरहेको छु ।

कोठामा दुईवटा खाट त्यर्सिएको छ । एउटा खाट एक्लै निदाईरहेको छ । अर्को खाटमा म पल्टिरहेको छु । मलाई दुईवटा बाक्लो ब्ल्याङ्केटले थिचेको छ ।

निन्द्रा लागेको / आएको छैन । सायद निन्द्रालाई पनि चिसो मन नपर्ने रहेछ । निन्द्रा पक्कै कत्तै तातो / हट ठाँउमा निदाएको हुनुपर्छ ।

म सोच्न थाल्छु । के सोच्न थाल्छु ? थाहा छैन !

लेखक:- रितेश गुरुङ

कथाकारको काम के ?
कथा लेख्ने !
लेख्नलाई कथा त हुनुपर्यो । त्यहीँ कथा सोच्न थाल्छु ।
चिसो / कोल्ड ठाँउमा बसेर तातो / हट कथा सोच्न / बुन्न थाल्छु ।

चिसो ठाँउमा चिसै कथा पनि त बुन्न / लेख्न सकिन्छ ।
दिमाग / मगजमा बत्ती बल्छ / जल्छ – “यति” !
यति अर्थात् हिउँमानव ! हिउँमानव अर्थात् हिममानव !
‘हो, हिममानव कै बारेमा कथा लेख्नुपर्छ’- म आफुलाई भन्छु ।

धेरैले मलाई सोध्ने गर्छन्- ‘ तपाईंका कथाहरु किन अजबका हुन्छन्, गजबका हुन्छन्, भिन्न हुन्छन्, अचम्मका हुन्छन्, अनौठा हुन्छन्, फरक हुन्छन् ?’

म भन्ने गर्छु- ‘ एउटा अचम्म / फरक / भिन्न / अनौठो मान्छेबाट के नै अपेक्षा गर्नुहुन्छ तपाईंहरु ?’

मेरा कथाहरु म जस्तै हुन्छन् किनभने-
म यथार्थ र कल्पनाको बिचको कथा लेख्छु । सपना र विपनाको बिचको कथा लेख्छु । भ्रम र सत्यको बिचको कथा लेख्छु ।

तपाईंहरु सबैले सुन्नुभएको तर देख्नु नभएको कथा लेख्छु । देख्नुभएको तर बुझ्नु नभएको कथा लेख्छु । निल्नु भएको तर पचाउन नसकेको कथा लेख्छु ।

मलाई आनन्द दिने , राहत हुने , मजा लाग्ने , रमाइलो लाग्ने कथाहरु मन पर्दैनन् । त्यसैले म चिमोठ्ने, पोल्ने, डराउने, तर्साउने कथाहरु लेख्ने / रच्ने गर्छु ।

बिश्वासलाई अबिश्वासले भाग गर्नुस्, जति / जे योगफल आउँछ त्यहीँ मेरो कथा / कहानी हो ।

***

समय उकालो चढ्दै छ । रातको कालो {अन्धकार} पनि चढ्दै / बढ्दै छ।
मेरो मस्तिष्कमा हिममानव गजृरहेको छ । बडेमानको शरीर, गाढा निलो आँखा, सफेद / सेतो भुत्ला / कपाल, लामो- लामो दारा / दाँत भएको ।

ओछ्यान बिस्तारै तातिदै छ । म बिस्तारै तातो हुँदै छु । निन्द्रा बिस्तारै आँखामा सल्किदै छ ।

***

झल्यास्स बिउँझिन्छु । टेबल ल्याम्प अन गर्छु ।
घडिले रातको दुई {2} बजाएको छ । तापक्रमले कति {?} बजाएको छ, मलाई थाहा छैन ।

एक्कसी प्यास / तिर्खा लागेर आउँछ । संगैको टेबलमा उभिएको मिनिरल वाटर / पानी उठाउछु । बोतलको पानी / वाटर चिसोले गर्दा पुरै आइस / बरफ भएको छ ।
एटेच बाथरुम पस्छु । धारा खोल्छु । पानी छैन । सायद चिसोले पाइपमै पानी जमेछ, म अनुमान जमाउछु ।

ढोका खोल्छु । बाहिर निस्किन्छु । भर्‍याङबाट तल उत्रिन्छु ।
काउन्टरमा बत्ती / लाईट बलिरहेको छ । म काउन्टरको मान्छेलाई बोलाउछु । मलाई कसैले सुन्दैनन् ।

म मुल ढोका खोलेर बाहिर निस्किन्छु । फुसुसुसुसु… हिउँ परिरहेको / झरिरहेको छ । जताततै सेताम्मे भएको छ । खै कुन्नी मलाई कुन प्रेरणाले तान्छ म हिउँमा हिंड्न् थाल्छु ।

मैले खुट्टामा केही लगाएको छैन तर अचम्म, मलाई कत्ती पनि चिसो / जाडो भएको छैन । मलाई झन् तातो / हट महसुस भएको छ । म हिउँमा हिंड्दै हिंड्दै होटल नजिकैको खोला किनार पुग्छु । खोलामा पानी बगेको छैन हिउँ जमेको छ । म त्यहीँ नदिमा जमेको हिउँ टेकेर पारी तर्छु।

मेरो प्यास / तिर्खा मेटिसकेको / हराईसकेको छ । मलाई आनन्द / मजा आईरहेको छ । मलाई कत्ती पनि चिसो / जाडो लागेको / भएको छैन । बौलाहा जसरि बगिरहेको चिसो हावा मलाई न्यानो लागिरहेको छ ।

मलाई खुसीले कराउन / चिच्याउन मन लाग्छ । म आफ्नो आवाज हावामा मिसाउन थाल्छु ।
मलाई एक किसिमको अनौठो आनन्द / राहत मिल्छ ।

एक्कसी मलाई चिसो / जाडो हुन थाल्छ । पैताला चिस्सिन थाल्छ । म हतार हतार दौडेर होटल भित्र पस्छु । भर्‍याङ चढ्छु । ढोका खोल्छु । रुम भित्र पस्छु ।

झल्यास्स बिउँझिन्छु ।
घडिले बिहानको आठ {8} बजाएको छ । तापक्रमले कति {?} बजाएको छ, मलाई थाहा छैन ।

कस्तो सपना देखेछु ? तातो / हट सपना हो कि चिसो / कोल्ड सपना, म छुट्याउन सक्दिनँ ।

***

बाक्लो कपडा लगाएर तल झर्छु । अरु कोठा / रुमका मान्छेहरु चिया पिउँदै गफ्फिदै गरेको देख्छु । म आफ्नो लागि कालो चिया माग्छु । चियाको कप हातमा लिँदै होटल बाहिर निस्किन्छु ।

जताततै हिउँले छोपिएको छ । म मोबाईल निकालेर एक दुई फोटो क्लिक हाल्छु ।

नजिकै मान्छेको एक झुन्ड आगो ताप्दै गफ्फिरहेका छन् । म पनि त्यहीँ जान्छु / पुग्छु ।

” कस्तो पत्याउनु न’भाको तपाईंहरुले ? सुन्नुभएन र तपाईंहरुले कराएको आवाज ?” एउटा अधबैंसे डराउदै बोल्छ ।

” हिजो कति बेला हो र ?” अर्को अधबैंसेको मुख चल्छ ।

” त्यस्तै रातको दुई {2} बजे तिर ।” पहिलेको अधबैंसेले भन्छ ।

मैले केहि बुझ्न सकिरहेको छैन , के कुरा गरिरहेका छन् यिनिहरु भनेर !

” खास के भएको हो र हिजोराति ?” म आफ्नो प्रश्न चुहाउछु ।

पहिलेको अधबैंसेको मुख चलमलाउछ, ” मैले हिजोराती दुई बजेतिर कोहि पागल जसरी कराईरहेको / चिच्याईरहेको सुनेको थिए ।”

नजिकै उभिरहेको वेटरको मुख चल्छ, ” यहाँ यस्तै हो सर, राती सधैं कराएको / चिच्याएको आवाज सुनिन्छ । हामिले पनि सुन्छौँ । यतै तिरको भुत हो भन्छन् मान्छेहरु !”

केही मान्छेहरु नपत्याएर हाँस्छन् । केही मान्छेहरु पत्याएर डराउछन् । म भने फ्रीज / जमेको / मौन छु ।

हिजो राती दुई बजे तिर त म कराएको / चिच्याएकी थिए नदिपारी तर सपनामा ! तर यो कसरी सम्भव भयो ?
चिसोमा मलाई गर्मी हुन थाल्छ ।

सायद यो कुनै संयोग पनि त हुन सक्छ ! यहीँ’कै कुनै भुतले कराएको र मैले सपनामा कराएको संयोग पनि त हुन सक्छ !

आफुलाई थामथुम पार्छु । तर, पनि उकुसमुकुस भै’रहेको छ । गर्मी भै’रहेको छ । अरु कसैको कुरा नसुनी सरासर हिउँमा टेक्दै नदि किनार पुग्छु । जमेको पानी / बरफ माथी टेक्दै नदि पारी जान्छु / पुग्छु ।

देख्छु, हिउँमा बडेमानका पाइलाहरु ! मान्छेको भन्दा कयौं गुणा ठुला पाईलाहरु !
सपनामा यहाँ हिंड्दा, रहेका यी पाईलाहरु के मेरा हुन् ?
वेटरले भने जस्तै कि यी पाईलाहरु भुतका हुन् ?
कि यति / हिममानवका हुन् ?

मलाई चक्कर लाग्न थाल्छ । गर्मीले म पसिना पसिना हुन थाल्छु । मेरो शरीर काँप्न थाल्छ ।
म शिथिल हुन्छु । यस्तो लाग्छ, कसैले मलाई एसिडमा डुबाईदिएको छ र म बिस्तारै गल्दै छु ।

हिउँमा छापिएका ती बडेमानका पैतालाका निसानहरु / पाइलाहरु कसका हुन् ?
मलाई थाहा छैन, तर कम्तिमा तपाईंहरुलाई बताउन / भन्न कथा / कहानी चाहिँ जन्मियो ।

अन्ततः चिसो ठाउँबाट चिसै कथा जन्मियो !

Loading...

***

Facebook Comments

Loading...