एप्स डाउनलोड गर्दा स्मार्टफोनमा भाइरस पस्ने सम्भावना,भाइरसबाट बच्ने तरीका

0
254
स्मार्टफोनमा भाइरस

एप्स डाउनलोड गर्दा स्मार्टफोनमा भाइरस पस्ने सम्भावना,भाइरसबाट बच्ने तरीका

काठमाडौं । इण्टरनेटसँग जोडिएपछि स्मार्टफोनमा भाइरस पस्ने सम्भावना बढी हुन्छ । अनावश्यक एप्स डाउनलोड गर्दा र भिडियो स्ट्रिमिङ गर्दा यस्ता ग्याजेट्समा भाइरस सर्न सक्छ । विभिन्न इण्टरनेटमार्फत आएका विभिन्न लिङ्कहरू खोल्दा पनि अधिकांश स्मार्टफोनमा भाइरसको आक्रमण हुने गर्छ । त्यसपछि फ्याक्ट्री रिसेट गरेर भाइरस हटाउन खोज्दा अत्यावश्यक डाटा पनि मेटिने जोखीम हुन्छ ।

अन्नोअन सोर्सबाट सफ्टवेयर र एप्स डाउनलोड गर्दा अधिकांश स्मार्टफोनमा भाइरसको समस्या देखिएको छ । मोबाइल विस्तारै स्लो हुन थाल्यो र डाटा कञ्जुम धेरै गर्न थाल्यो भने भाइरस सङ्क्रमण भएको बुझ्नुपर्ने हुन्छ ।

ट्रोजन भाइरस सबैभन्दा खतरनाक हुन्छ । यो फोनको एउटा कुनामा बसेर सूचना पठाइरहन्छ । ट्रोजन भाइरसले सिष्टम वा जानकारीमाथि पहिले नै कब्जा गर्दछ । त्यसपछि स्मार्टफोन, ट्याब्लेट आदिबाट लिएको जानकारी विस्तारै कम्प्युटरसम्म लैजान्छ, जसका लागि प्रोग्रामिङ गरिएको हुन्छ । खासगरी पोर्न बेवसाइटबाट यस्तो ट्रोजन भाइरस डिभाइसमा आउँछ । कुनै पनि एप्स डाउनलोड गर्नुअघि गूगल प्ले स्टोरमा एप्सको रिभ्यू अनिवार्य पढ्नुपर्छ । कुनै पनि एप्सले स्मार्टफोनबाट जे जे जानकारी लिन इजाजत माग्दछ, त्यसैबाट पनि उक्त एप्स कस्तो हो भन्ने थाहा पाउन सकिन्छ । स्मार्टफोनमा भाइरस लाग्न नदिनु सबैभन्दा बुद्धिमानी हुन्छ । लागेपछि हटाइएन भने महत्त्वपूर्ण अभिलेख बिग्रने वा हराउने समेत हुन सक्छ ।

भाइरसबाट बच्ने तरीका
भाइसरबाट स्मार्टफोनलाई बचाउन पोर्न साइटजस्ता शङ्कास्पद वेबसाइटभित्र छिर्नुहुँदैन । यस्ता साइटबाट स्मार्टफोनमा सबैभन्दा छिटो भाइरस पस्ने सम्भावना हुन्छ । अटोमेटिक रूपमा जुनसुकै एप्स डाउनलोड र इन्ष्टल गर्नेगरी स्मार्टफोनको सेटिङले पनि भाइरस छिर्न सक्छ । भाइरसबाट जोगाउन एण्टिभाइरस हाल्नु बुद्धिमानी ठहरिन्छ । तर, जे पायो त्यही एण्टिभाइरस हाल्नु पनि हुँदैन । यसो गर्दा त्यहीबाट भाइरस सर्ने सम्भावना हुन्छ । त्यसैले, एण्टिभाइरस इन्ष्टल गर्नुअघि त्यसको रिभ्यू पढ्ने गर्नुपर्छ ।

भाइरस लागेपछि देखिने समस्या
फोन स्लो हुन्छ
फोनमा भाइरस पसेपछि मोबाइल विस्तारै सुस्त हुन थाल्छ । यो भाइरस भएको पहिलो लक्षण हो । सामान्यतया फोनको मेमोरी भरिएपछि मात्र क्यामेरा, ब्राउजिङलगायत सेवा सुस्त हुन थाल्छ । भाइरसको सङ्क्रमणले फोनको सामान्य फोन कल, म्यासेज, टाइपिङलगायत काम पनि ढिलो हुन्छ ।

डाटा छिट्टै सकिन्छ
स्मार्टफोनमा भाइरसको सङ्क्रमण भएपछि डाटाको खपत बढ्न थाल्छ । भाइरसले आपैm डाउनलोड गर्ने, वेबसाइट खोल्ने वा डाटा अपलोड गर्ने भएकाले डाटा बढी खर्च हुन्छ । सामान्यतया १ महीनामा मात्र सकिने डाटा प्याकेज भाइरस लागेपछि १०–१५ दिनमै नै सकिन्छ ।

फोन तात्छ
भाइरस लागेपछि स्मार्टफोन अत्यधिक तात्न थाल्छ । नचलाउँदा पनि फोन तात्ने समस्या भयो भने भाइरस लागेको हुन सक्छ । सामान्यतया अत्यधिक वेब ब्राउजिङ गर्दा, भिडियो हेर्दा वा गेम खेल्दा फोन तात्छ । भाइरसले गर्दा सामान्य कल आएको वा एसएमएस प्रयोग गरेको बेला पनि स्मार्टफोन निकै तात्छ ।

ब्याट्री चाँडै सकिन्छ
स्मार्टफोनमा भाइरस लागेपछि ब्याट्री चाँडै सकिन थाल्छ । फोनको ब्याट्री फेरेको १–२ हप्ता नहुँदै पनि ब्याट्री चाँडै सकिन्छ भने फोनमा भाइरस सङ्क्रमण भएको बुझ्नुपर्छ । भाइरसले फोन धेरै प्रयोग नभएको बेला पनि ब्याट्रीको बढी नै खपत गराउँछ ।

पपअप विज्ञापन देखिन थाल्छ
भाइरस लागेपछि इण्टरनेटमा कनेक्ट हुनेबित्तिकै पपअप विज्ञापन आउन थाल्छ । कुनै एप खोल्दा वा चलाउँदा पनि अनावश्यक रूपमा पपअप विज्ञापन आउनुको कारण स्मार्टफोनमा भाइरस लागेको हुन सक्छ ।

डाटा हराउँछ
भाइरसका कारण फोनमा भएको डाटा आफै डिलिट हुन थाल्छ । यस्तै, कुनै कुनै फाइल करप्ट हुन्छ । फोटो तथा भिडियो जुन पहिलो खोलिन्थ्यो, भाइरस लागेपछि अचानक ब्लक हुने वा फाइल फम्र्याट परिवर्तन हुने जस्ता समस्या आउँछ ।

भाइरस लागिहालेमा
एण्टिभाइरस इन्ष्टल गर्ने
स्मार्टफोनमा भाइरस सङ्क्रमण भइसकेको छ भने गूगल प्ले स्टोरबाट एण्टिभाइरस इन्ष्टल गरी स्क्यान गर्नुपर्छ । साथै, एण्ड्रोइड स्मार्टफोनलाई सेफ मोडमा पनि बूट गर्न सकिन्छ । त्यसपछि विस्तारै फाइल छान्दै डिलिट गर्दै जानुपर्छ । एण्ड्रोइड ४ वा त्यसपछिका अपरेटिङ सिष्टम भएका स्मार्टफोनमा सजिलैसँग सेफ मोडमा बूट गर्न सकिन्छ ।

सेफ मोडमा रिबुट
फोन वा ट्याब्लेटलाई सेफ मोडमा रिबुट गरेर भाइरस हटाउन सकिन्छ । यसो गर्दा थर्ड पार्टी एप्सबाट आउने भाइरस हट्छ र यो आफै बन्द पनि हुन्छ । फोनमा सेफ मोड रिबुटको अप्शन छैन भने पावर बटन केही बेर थिच्नुपर्छ । यसो गर्दा रिबुट अप्शन देखिन्छ ।

डिभाइस सेटिङ
स्मार्टफोन या ट्याब्लेटलाई रिस्टार्ट गरेपछि शुरूमा डिभाइस सेटिङमा जानुपर्छ र एप्सको अप्शन ओपन गर्नुपर्छ । शुरूमा एप्स रनिङ मोडमा हुँदैन । यतिबेला मोबाइलमा भएको भाइरस रन भएको देखिन्छ । यिनीहरूलाई अनइन्स्टल गर्दै जानुपर्छ ।

फर्म्याट गर्ने
स्मार्टफोनमा भाइरस लागेपछि सबैभन्दा सजिलो उपाय फ्याक्ट्री रिसेट गर्नु हो । आफूलाई चाहिने डाटा, फोन नं, डकुमेण्ट, फोटो, भिडियोहरू कम्प्युटरमा वा आईक्लाउडमा ब्याकअप गरेपछि मोबाइलको सेटिङमा गएर फ्याक्ट्री रिसेट गर्नुपर्छ । रिसेट गरिसकेपछि शुरूमा एण्टिभाइरस इन्ष्टल गर्नुपर्छ । अनि मात्र पुराना डाटा, डकुमेण्टहरू सार्नुपर्छ ।

Facebook Comments

Loading...