फर्सी खेती कसरी गर्ने ? कृषि तथा तरकारी खेती प्रविधि सम्बन्धि जानकारी

0
479

फर्सी खेती कसरी गर्ने ? कृषि तथा तरकारी खेती प्रविधि सम्बन्धि जानकारी

फर्सी नेपालमा ग्रीष्म–वर्षा मौसममा खेती गरिने प्रचलित तरकारी बाली हो । अरू तरकारी बालीको तुलनामा फर्सीमा उत्पादन क्षमता, पौष्टिक तत्वहरू, भण्डारण क्षमता र ढुवानी खप्न सक्ने क्षमता बढी हुनुका कारणले यसको खेती प्रचलित हुन सकेको हो ।

महत्व

यसका हरिया र पाकेका दुवैथरी फलको तरकारी बनाएर खाइन्छ । यसका लहराका कलिला मुन्टा र पातको पनि तरकारी बनाइन्छ । पाकेको फर्सीमा भिटामिन ‘ए’ पाईन्छ । यसको धेरै औषधीय महत्व पनि छ । नेपालका सबै जिल्लाहरूमा यसको खेती गरिन्छ ।

हावापानी र माटो

  • फर्सी गर्मी मौसमको बाली हो । यो २५–३० डि.से. दिउँसोको तापक्रम तथा १८–२०० से. रातिको तापक्रममा राम्रो सप्रन्छ ।
  • यसले तुषारो खप्न सक्दैन ।
  • परिपक्व हरिया फल १०० डि.से. भन्दा कम तापक्रममा राखेमा फलमा ठण्डीबाट हुने घाउ लाग्दछ ।
  • वायुको ४० डि.से. भन्दा माथिको तापक्रमले फुल्न तथा फल्नमा नकारात्मक असर गर्दछ ।

जातहरू

  • वानस्पतिक गुणका आधारमा फर्सी तीन किसिमका छन्, नेपाली फर्सी, युरोपियन फर्सी वा हिउँदे फर्सी र सुख्खा तथा गर्मी यामको स्क्वास ।
  • नेपाली फर्सीका लहरा लामा, फल खण्ड परेका, फलका भेट्ना पाटापाटा परेका, पात गाढा हरिया, गोलाकार र पातको नसामा सेता थोप्लाहरू भएका हुन्छन् ।
  • युरोपियन फर्सीका पात हल्का पहेंला रंगका फल गोला र फलका भेट्ना डोला हुन्छन् ।
  • नेपालमा स्थानीय जातहरूको बढी खेती गरिन्छ । फलको आकारका आधारमा फर्सीलाई जाँते (गोला थेप्चा आकारका) र मादले (लाम्चा मादले आकारका) भनिन्छ । मादले भन्दा जाँते फर्सी बढी मीठो हुन्छ ।

बाली लगाउने र लिने समय

  • बीउ सोझै बारीमा रोप्ने वा प्लास्टिक थैलामा हुर्काएका बेर्ना सार्ने काम उच्च पहाडमा वैशाख–जेठमा, मध्य पहाडमा फागुन–चैतमा र खोंच, बेंसी, तराईमा माघ–फागुनमा गरिन्छ ।
  • त्यसैगरी बाली लिने समय तराईमा वैशाख देखि भदौसम्म, मध्य पहाडमा असार देखि असोजसम्म र उच्च पहाडमा भदौ देखि असोजसम्म हुन्छ ।
  • क्षेत्र अनुसार अगौटे बाली तराईमा, मध्यम मौसमी मध्य पहाडमा र पछौटे बाली उच्च पहाडमा लगाउने र लिने गरिन्छ ।

बीउदर

एक रोपनी जमिनको लागि १२५ ग्राम बीउको आवश्यकता पर्दछ ।

Loading...

loading...

रोप्ने दूरी

  • हारबाट हार २ मिटर र बोटबाट बोट २ मिटरको फरकमा बेर्ना सार्ने वा बीउ रोप्ने गरिन्छ ।
  • बीउ रोप्दा २ दाना बीउ एक ठाउँमा रोपिन्छ । बेर्ना सार्दा एक ठाउँमा एउटा बेर्ना सारिन्छ ।
  • बीउ उम्रेपछि दुईटा मध्ये एउटा बलियोलाई राख्ने र कमजोरलाई हटाउनु पर्दछ ।

जमिनको तयारी

  • फर्सी लगाउने जमिन २–३ पटक गहिरो गरी डल्ला फोडेर झार जिलाउने गर्नु पर्दछ ।
  • दुई–दुई मिटर चौडा ड्याङ बनाउने र दुई ड्याङको बीचमा ३० से.मि. फराकिलो कुलेसो बनाउनुपर्दछ ।
  • निश्चित दूरीमा ३०×३०×३० से.मि. साइजका खाडल खनेर वा खाडल नखनी ड्याङ्गमा बीउ रोप्ने वा बेर्ना सार्ने गर्न सकिन्छ ।

मलखाद तथा सिंचाइ

  • एक रोपनी जमिनको लागि १५०० के.जी. गोबर मल, ५ के.जी. नाइट्रोजन, ३ के.जी. फस्फोरस र ३ के.जी. पोटास, २ के.जी बायोजाम, १ के.जी सूक्ष्म तत्वको धूलोको आवश्यकता पर्दछ । यी मलहरू काँक्रोमा झैं ३ पटक गरेर हाल्नुपदर्छ ।
  • बीउ रोप्दा र बेर्ना सार्दा पानी दिनुपर्दछ ।
    ठूला पात र ठूलो बोट हुने हुनाले यसलाई चिस्यान धेरै चाहिन्छ । फर्सीलाई सुख्खा मौसममा ७–१० दिनमा नियमित रूपले सिंचाइ गर्नुपर्दछ ।
  • पाकेका फलको लागि खेती गरिएको छ भने फल परिपक्व हुन थालेपछि सिंचाइ दिन कम गर्नुपर्दछ ।
    गोडमेल तथा थाँक्रा दिने
  • माटो खुकुलो पार्न र झारको रोकथाम गर्न गोडमेल गर्नुपर्दछ । थप मल दिने बेलामा दुई पटक गोडमेल गर्ने र हल्का उकेरा दिनुपर्दछ ।
  • फर्सीलाई बलियो थाँक्रो चाहिन्छ । घर, कौसी वा गोठको छानामा चढाएर थाँक्राको व्यवस्था गर्न सकिन्छ ।
  • फर्सीलाई जमिनको नजिकै होचो टाँड बनाएर वा छापो दिएर थाँक्राको काम लिन सकिन्छ ।

बाली लिने

  • फर्सी बालीको रूपमा हरिया मुन्टा, हरिया फल तथा पाकेका फल लिइन्छ । हरिया फल आकर्षक रंग र साइजका भएपछि तुरुन्तै प्रयोगको लागि टिप्नु पर्दछ ।
  • ढुवानी तथा भण्डारका लागि फूल लागेको एक महिनामा टिप्नु पर्दछ । हरिया मुण्टा धेरै पटक टिपे फल बालीमा असर पर्दछ ।
  • बीउ उम्रेको वा बेर्ना सारेको ८०–८५ दिनमा पहिला फलहरू टिप्न लायक हुन्छन् । बजारको माग अनुसार हरिया फल टिप्न सकिन्छ ।
  • फर्सीका फलहरू ७–१० से.मि. फलको भेट्नु सहित टिप्नु पर्दछ ।

उत्पादन

एक रोपनीबाट फर्सीका हरिया फल २०००–३००० के.जी. उत्पादन हुन्छ ।

loading...

Facebook Comments

Loading...