साफ यु–१५ महिला फुटबलः पाकिस्तानमाथि नेपालको शानदार जित

0
339
महिला फुटबल टिमको खेल, महिला फुटबलको सेमिफाइनलमा

साफ यु–१५ महिला फुटबलः पाकिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं । भुटानमा जारी दोस्रो यु–१५ साफ च्याम्पियनसिप महिला फुटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ ।

loading...

शनिबार साँझ भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो ।

नेपालका लागि अनुष्का शेर्पाले सातौं मिनेटमा पहिलो गोल गरिन् । खेलको १३औं मिनेटमा सविता रानामगरले दोस्रो गोल गरिन् । सविताले डिबक्सबाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।

पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालका लागि ५६औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गरिन् । त्यस्तै, रजनी थोकरले ५९औं मिनेटमा अर्को गोल गर्न सफल भइन् ।

यो जितसँगै नेपालले समूह चरणमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

अफगानिस्तान र मल्दिभ्सबाहेक सार्कका ६ मुलुकले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

loading...

प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् ।

मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनीषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् ।

मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् ।

यसअघि, बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाली टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन । त्यतिबेला नेपालले कुनैपनि खेलमा जित हासिल गर्न सकेन ।

Loading...

नेपाल आयोजक बंगलादेशसँग ६–० को गोलअन्तर र भारतसँग १०–० को फराकिलो गोलअन्तरले पराजित भएको थियो भने भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । रासस

Facebook Comments

Loading...