भारतीय रेलवेले नेपाली आयातकर्ताहरूले तिर्ने जरिवाना तीन गुणा बढायो

474
रेलमार्ग
needle exchange, train rails, detail of railways in Spain
Advertisement

भारतीय रेलवेले नेपाली आयातकर्ताहरूले तिर्ने जरिवाना तीन गुणा बढायो

वीरगञ्ज। भारतीय रेलवेले नेपाली आयातकर्ताको रक्सौलमा आउने मालवाहक ¥याकको अनलोडमा लाग्ने विलम्ब शुल्क तीन गुणासम्म बढाएको छ । भारतीय रेलवेको रक्सौल यार्डमा आउने नेपाली आयातकर्ताहरूको मालसामान अनलोडमा लाग्ने विलम्ब शुल्क शुक्रबार राति ८ बजेदेखि १५ दिनका लागि बढाइएको ।

भारतीय रेलवेले उक्त विलम्ब शुल्क वृद्धिको सूचना बुधबार नै नेपाली आयातकर्तालाई दिइसकेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव माधव राजपालले बताउनुभयो । भारतीय रेलवेको मध्यपूर्वी कार्यालय समस्तीपुरले रक्सौल रेलवेका माल अधीक्षकलाई पत्र लेखेर १५ दिनसम्मका लागि जरिवाना बढाउन भनेको सूचना आफूहरूले पाएको उहाँले बताउनुभयो ।

भारतीय रेलवेले रक्सौल यार्डमा मालसामानको चाप बढ्न गएको कारण देखाउँदै जरिवाना बढाएको जनाएको छ । विगतमा पनि भारतीय रेलवेले बेला बेलामा जरिवाना दर बढाउने गरेको थियो गतवर्ष यस्तो जरिवाना ६ गुणासम्म बढाएको थियो । गतवर्ष पनि १५ दिनको लागि भनेर बढाइएको यस्तै ६ गुणासम्म वृद्धि गरिएको जरिवाना दर तीन महिनापछि मात्र हटाएको थियो ।

भारतीय रेलवेलाई नेपाली आयात कर्ताहरूले तिर्दै आएको विलम्ब शुल्क एकाएक तीन गुणा बढाएपछि नेपालकै मुख्य नाका वीरगञ्ज भएर हुने आयातमा जरिवानाको भार बढ्ने भएको छ ।

यसरी बढाइएको जरिवाना दरले नेपालका लागि आउने औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुको ढुवानी खर्च बढ्ने, खर्च उत्पादन लागत बढेर सामग्रीको मूल्य वृद्धि हुने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडियाले बताउनुभयो ।

भारतीय रेलवेले ¥याक अनलोडका लागि नेपाली आयातकर्तालाई नौ घण्टाको समय दिन्छ । उक्त समयसीमाभित्र अनलोड नभए एउटा बेगनमा प्रतिघण्टा १५० भारतीय रुपियाँका दरले जरिवाना तिर्नुपर्छ । नयाँ जरिवाना शुल्क दर अब ४५० भारुसम्म पुग्ने भएको छ । तोकिएभन्दा दुई घण्टासम्मका लागि सामान्य दरमा जरिवाना लिइने, त्यसपछिको ४ घण्टासम्म २ गुणा र ४ घण्टाभन्दा बढीमा ३ गुणा जरिवाना लाग्ने रेलवेले जारी गरेको पत्रमा उल्लेख छ । याे खबर अाजकाे गाेरखापत्रमा छ ।

रक्सौल यार्डमा मालसामान आउने ७, ८ र ९ नम्बर लिकमध्ये २ ओटा वर्षाको पानी जमेकाले आधाभन्दा बढी ठाउँमा मालसामान अनलोड गर्नै नमिल्ने अवस्था रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव राजपालले बताउनुभयो । भारतीय रेलले मर्मत सम्भार नगर्दा आयातकर्ताले मालसामान झार्न नपाएको गुनासो व्यवसायीहरूको छ । भारतीय रेलवेको जीर्ण र अपर्याप्त पूर्वाधारका कारण नेपाली आयातकर्ताले जरिवाना तिर्नु परेको उहाँले गुनासो गर्नुभयो ।

वीरगञ्ज नाका भएर कोइला, स्ल्याग, फलामजस्ता औद्योगिक कच्चा पदार्थ भित्रिने गरेको छ । रक्सौल यार्डमा एक पटकमा ५९ बेगनको ¥याक अनलोड गर्नसकिने गरेको भए पनि पछिल्लो समयमा वर्षाको कारण रेलवे यार्डको अस्तव्यस्त भएकाले एक पटकमा ३० वेगनभन्दा बढी अनलोड गर्न सकिरहेको अवस्था छैन । भारतीय रेलवेको व्यवस्थापकीय कमजोरीले रेलवेको यार्डको दुरावस्थाबाट सिर्जित समस्याको भार नेपाली आयातकर्ताहरूले बहन गरी रहनु परेको गुनासो व्यवसायीहरूको छ ।

Facebook Comments

Advertisement