दशैँमा मुखै रसाउने मासुको परिकारः साँधेको कलेजो र साँधेको टाउको

0
309

दशैँमा मुखै रसाउने मासुको परिकारः साँधेको कलेजो र साँधेको टाउको

दशैँमा घरमा ल्याइएको मासु सबै एकैपटक पकाएर खान सकिँदैन । त्यसैले मासुको संचय राम्रोसँग गर्नु उपयुक्त हुन्छ । मासु डिपफ्रिजमा राखेर संचय गर्नुपर्छ । फ्रिजमा राख्नुअघि मासुलाई राम्रोसँग सफा गर्ने अनि त्यसलाई साना-साना भाग लगाउने अथवा घरमा एकपटकमा जति मासु खपत हुन्छ त्यति नै पकाउनुपर्छ । मासुको संचय धेरै दिन पुग्ने गरी गर्नु हुँदैन ।

मासु पकाउने आ-आफ्नै तरिका हुनसक्छ तैपनि मासुमा कम तेल, मसला हालेर पकाउनुपर्छ । मासु खाँदा सकभर रातो मासु (खसी, राँगा, बँदेल आदि) र भित्री मासु खानुहुँदैन । खाए पनि कम मात्रामा खानुपर्छ ।

सेतो मासु (कुखुराको मासु र माछा) स्वास्थ्यका दृष्टिले अनुकूल मानिन्छ । रातो मासुमा हुने चिल्लो पदार्थमा स्याच्युरेटेड फ्याट हुन्छ जुन शरीरका लागि फाइदाजनक मानिँदैन ।

कुनै दीर्घकालीन रोग भएका बिरामीहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मिर्गौला, कलेजोका रोगी, युरिक एसिड तथा रगतमा कोलेस्ट्रोल, टाइग्लिसिराइड आदि चिल्लो पदार्थ बढी छ भने पनि रातो मासु तथा भित्री मासु खानुहुँदैन ।

मासु पकाउँदा सकभर चिल्लो कम हुने गरी पकाउने अथवा मासुलाई सुख्खा तरिकाले पकाउँदा त्यसमा भएको चिल्लो पदार्थ पनि जान्छ । सुख्खा तरिकाले पकाउने भन्नाले ओभन छ भने ओभनमा रोस्ट गरेर पकाउने अथवा साधारण किसिमको कराहीमा मासुलाई थोरै मसलामा मोलेर मन्द आँचमा राखेर पकाउनु हो ।

यसरी मासु पकाउँदा त्यसमा भएको चिल्लो पदार्थ पनि कराहीमा निस्कन्छ । केहीबेर तातोपानीमा डुबाएर पकाउँदा पनि मासुको चिल्लो केही हदसम्म कम हुन्छ ।

पहिले-पहिले दशैँको ९ दिन बिहान सबेरै उठी हिँडेर देवीको मन्दिर जाने चलन थियो तर हिजोआज मन्दिर जाँदा पनि गाडी वा मोटरसाइकल चढिन्छ । जसले गर्दा शारीरिक क्रियाकलापको कमी भएर मासु राम्रोसँग पच्न सक्दैन ।

त्यसमाथि मासु खाएर शरीरभित्र पुगेपछि पचाउने तथा सोस्नेजस्ता काम गर्न लगभग ८ देखि ९ घन्टा लाग्छ । त्यसकारण मासु खाएपछि अनिवार्य रूपमा शारीरिक व्यायाम गर्नुका साथै प्रशस्त पानी पिउनुपर्छ ।

आजकाल मासुको खपत धेरै हुन्छ । मासु बेच्नेहरूले पशुपक्षीको स्वास्थ्यको हेरविचार राम्रोसँग गरेका हुँदैनन् । रोगी पशुपक्षीको मासु खाँदा समस्या देखिन सक्छ भने काँचो माछा-मासु कहिल्यै खानुहुँदैन ।

मासु १ सय डिग्रीभन्दा माथिको तापक्रममा पकाउनुपर्छ । मासु संचय गर्दा पाकेको मासुलाई फ्रिजमा राख्नुभन्दा पनि काँचो मासुलाई डिपफ्रिजमा राख्नु वेस हुन्छ । मासु पकाउँदा पनि एकैपटक धेरै दिनलाई पुग्ने गरी पकाउनु हुँदैन ।

१-२ दिनका लागि मात्र मासु पकाएर राख्ने अनि चाहिने जति निकालेर बाँकी मासुलाई चिसो भएपछि बिर्को बन्द गरेर फ्रिजमा राख्नुपर्छ अनि पछि जति चाहिन्छ त्यति मात्रामा निकालेर तताएर खानुपर्छ । मासुलाई तताउने वा चिस्याउने काम गर्दा स्वाद बिग्रनुका साथै त्यसमा कीटाणु पनि बढ्दै जान्छन् ।

मासु धेरै खाँदा मानिसमा कब्जियतको समस्या देखिन्छ । त्यसैले खानामा मासुसँगै हरियो सागपात, तरकारी तथा मौसमअनुसारका फलफूल खोस्टे दाल, नफलेको चामलको भात आदि समावेश गर्नुपर्छ ।

आउनुस यि होसीयारी समेत दशैँमा मासुका मिठा परिकारको बारेमा जानकारी लिउँ यो कसरी बनाउने भनेर

साँधेको कलेजो

loading...

सामग्री : खसीको सिंगो कलेजो, १ सय ग्राम लसुन र अदुवाको पेस्ट, दुई चियाचम्चा धनियाँको धूलो, आधा कप धनियाँको पात, केही हरियो खुर्सानी -मसिनो गरी काटिएको), रातो खुर्सानीको धूलो स्वादअनुसार, तोरीको तेल झान्नका लागि, नुन स्वादअनुसार ।

विधि : सबै भन्दा पहिले पानी उमाल्ने । त्यसमा सिंगो कलेजो डुबाएर आधा घण्टासम्म छोपेर राख्ने । त्यसपछि बाहिर पाकेको र भित्र काँचो कलेजो पर्ने गरी टुक्रा पार्ने । अब त्यसमा तेलबाहेक सबै मसला हालेर मोल्ने । आधा घण्टापछि तेलमा मेथी फुराएर झान्ने । धनियाँको पातले सजाएर सर्व गर्ने । यो परिकारलाई डि्रंक्ससँग स्न्याक्सका रूपमा सर्व गर्न सकिन्छ ।

साँधेको टाउको

सामग्री : खसीको सिंगो टाउको, २ सय ग्राम लसुन र अदुवाको पेस्ट, २ चियाचम्चा धनियाँको धूलो, २ चियाचम्चा जीराको धूलो, आधा कप धनियाँको पात, केही हरियो खुर्सानी -मसिनो गरी काटिएको), रातो खुर्सानीको धूलो स्वादअनुसार, तोरीको तेल झान्नका लागि, नुन स्वादअनुसार ।

विधि : सबैभन्दा पहिले टाउकोलाई चार भागमा विभाजन गरेर प्रेसर कुकरमा मासु र हड्डी छुट्टनिे गरी उमाल्ने । त्यसपछि मासु र हड्डी अलग-अलग गरी टुक्रा पार्ने । अब त्यसमा तेलबाहेक सबै मसला हालेर मोल्ने । तोरीको तेलमा मेथी फुराएर झान्ने । धनियाँको पातले सजाएर सर्व गर्ने । यो परिकारलाई डि्रंक्ससँग स्न्याक्सका रूपमा सर्व गर्न सकिन्छ ।

मुखै रसाउने मासुको परिकार बनाउनुस अझ स्वादिलोःकसौँडीमा पकाएको पक्कु मासु

Loading...

loading...

Facebook Comments

Loading...