” Expect the unexpected ” by Ritesh Gurung

0
271
loading...

” Expect the unexpected ” by Ritesh Gurung

यो जगत् मजाको छ ! मज्जाको छ ! मजेदार छ ! मसालेदार छ ! कम्तिमा मजाकको चाहिँ छैन !

loading...

यो युनिभर्स मैले भनेकै जस्तो छ, युनिक ।
शान्त छ । क्लान्त छ । एकान्त छ ।
मलाई यो लोक मन पर्नुको एउटा मुख्य कारण- यहाँ भगवान, देवता, ईश्वर, जस्ता कोहि अपरिचितहरु छैनन् ।
यहाँ नियम छैन । नियन्त्रण छैन । कानुन छैन । कारबाही छैन ।


यहाँ सबै खुला छ । खुल्ला छ । खोलिएको छ ।
बन्द केहि छैन । बन्दी कोहि छैन । कैद केही छैन । कैदी कोहि छैन ।
सुन्दर मनहरु छन् , दुश्मनहरु छैनन् ।

यो होल युनिभर्स संगल म जस्तै छ- इमान्दार, जेहन्दार, लचकदार, बफादार ।

तर, एउटा गल्ली छ- कालो, साँघुरो, अध्यारो । त्यो गल्ली घाटमा गएर टुंगिन्छ । अक्सर साथीहरू मलाई त्यहीँ घाटमा भेटघाटका लागि बोलाउछन् ।
मलाई त्यो अँध्यारो गल्ली र अन्धकार घाट खुब डरावनी लाग्छ। डेड लाग्छ । डेड्ली लाग्छ । डर लाग्छ ।

हामी साथीहरू कहिले घाटमा, कहिले चिहानमा, कहिले मुर्दाघरमा भेट गर्छौं ।
साथीहरू भन्ने गर्छन् – जिवनको, जिन्दगीको गफ गर्नलाई यी ठाउँहरु भन्दा उपयुुक्त अरु कुनै हुनै सक्दैनन् ।

 

Ritesh Gurung

म हिँडिरहेको छु, त्यही अध्यारो गल्लीमा ।
मुटु मुखबाट बाहिर आउला जसरी धड्किरहेको छ । शरीर पसिना पसिना भएको छ । खुट्टा लुक-लुक काँम्दै छ ।
यत्तिकैमा पछाडिबाट केही आवाज आउँछ । कसैको आवाज आउँछ ।
यस्तो लाग्छ, यो सुनसान शुन्य गल्लिमा मलाई कसैले पछ्याउँदै छ । लखेट्दै छ । पछाडि फर्केर हेर्न हिम्मत आउँदैन ।
आफ्ना खुट्टाहरु तन्काउदै हिंड्न थाल्छु । सासको गति तेज हुन थाल्छ ।

पछाडिबाट आएको आवाज क्रमशः ठूलो ठूलो हुँदै जान्छ ।
फटाफट हिँडिरहेका मेरा खुट्टाहरु अब दौडिन थाल्छन् । सास फेर्न गार्हो भए’झैँ हुन्छ ।

यत्तिकैमा एक्कासि कसैको चीत्कार सुनिन्छ ।
म यसरी दौडिन्छु, मानौं यो कुनै म्याराथन प्रतियोगिता हो र म एउटा घावक हुँ ।

त्यो गल्लीमा हिँड्दा अक्सर मलाई कसैको आवाजले पछ्याइरहन्छ, कसैको पाइलाले लखेटिरहन्छ ।
यस्तो लाग्छ, त्यहाँ कुनै दुष्ट आत्माको बाँस छ जो भट्किरहेको छ, रातबिरात दरबदर ।

*******

के भुत प्रेत साच्चिकै हुन्छन् ?
यहीँ प्रश्न मैले आफुले आफुलाइ कत्ती पटक सोधे हुँला, त्यसको कुनै गन्ती नै छैन ।
हुन त, यहाँ कसले पो प्रश्नहरु गन्ती गर्ने गल्ती गरेका छन् र ?

भन्छन्, मान्छेले चालेका हरेक पाइलामा नयाँ प्रश्नको जन्म हुन्छ, नयाँ कौतहल्ता उम्रीन्छ, नयाँ जिज्ञासा भेटिन्छ ।
तर, मलाई भने त्यहीँ एउटा रहस्यले चिमोठिरहन्छ, हरदम हरपल !

साथीहरू भन्ने गर्छन्, ” मृत्यु पछि पनि जीवन हुन्छ ! मृत्यु अन्त्य होइन, सुरुवात हो- एउटा बिल्कुलै नयाँ जिन्दगीको !”

थप्छन्, ” यो लोक भन्दा धेरै सुन्दर हुन्छ रे त्यो परलोक ! तै’भएर त्यहाँ गएका आत्माहरु यो लोकमा फर्किन मान्दैनन् । केही आत्माहरु भने परलोक जाने बाटो’मै हराउछन्, अलमलिन्छन् । त्यहीँ आत्माहरु हुन जो हाम्रा सपनाहरूमा आउने गर्छन्, जिस्काउने गर्छन् , तर्साउने गर्छन् ।”

साथीहरू बाट यस्ता वाणीहरु सुन्दा, बुझ्दा आफू भित्र उम्लिरहेको प्रश्नहरुको ज्वारभाटा केही मत्थर हुन्छ,
केही समयका लागी ।

त्यो कुन आत्मा हो, कसको आत्मा हो, जो मलाई लखेटिरहन्छ त्यो डेड्ली गल्लीमा ?
पक्कै त्यो आत्मा पनि बिराएको हुनुपर्छ, हराएको हुनुपर्छ परलोक जाने बाटोमा !

धेरै पहिले एक जोगिले भनेको सम्झन्छु, ” केही आत्माहरु भने आफ्नै पुरानो लोकमा फर्कन चहान्छन्, आफ्नाहरुसंग जोडिन चहान्छन् । त्यसैले उनिहरु त्यही ठाउँमा भट्किरहन्छन् जहाँ उनिहरुले आफ्नो समय बिताएका थिए, जीवन बिताएका थिए।”

*******

तीन बजेको छ ।
बुढापाकाहरुको भनाइ छ, ” आत्माहरु रातको तीन बजे एकदमै शक्तिशाली हुन्छन् रे । यो समयमा उनीहरुको चलखेल अरु बेला भन्दा ज्यादा हुन्छ रे ।”

मलाई त्यो आत्मा खोज्नु छ । भेट्नु छ ।
डेड्ली गल्लिमा मलाई मात्र तर्साउने त्यो आत्मालाई जान्नु छ ।
आखिर के चाहिएको छ त्यसलाई ?
मलाई त्यसको उत्तर चाहिएको छ ।

जुनको मधुरो प्रकाश पोखिएको छ, चारैतिर ।
हावालाई भ्याइनभ्याई छ, खै कुन्नी कुन लोक पुग्न ।

म लम्किरहेको छु, त्यो अध्यारो गल्ली तर्फ ।
मन नै यस्तो ठाउँ होला जहाँ उत्तरको कुनै ठाउँ हुँदैन ।
तछाडमछाड गर्दैछन् प्रश्नहरु !

आफ्नो शरीरलाई बलियो संग कसेको छु, हिम्मतको डोरिले ।
गल्ली शान्त छ । मात्रै मेरा सासहरु कराइरहेका छन्, स्वाँsssss …..स्वाँssss

आँsss…. आँsss…..

कसैको चीत्कार सुनिन्छ ।
डरले शरीर शिथिल हुँदै जान्छ । आफ्नो शरीरलाई जबर्जस्ति घिसार्दै आवाज आए तिर लौजान्छु ।

त्यो रुइरहेको आवाजलाई पछ्याउँदै, पछ्याउँदै म एउटा घर भित्र पस्छु । चारैतिर अनौठो किसिमको बास्ना ब्याप्त छ ।
आवाज आउन बन्द हुन्छ ।

घरका सबै कोठाहरु जाँच्छु, सबै अन्धकार, सबै खाली हुन्छन्।
अन्तिममा रहेको कोठाबाट अलिकती प्रकाश कोरिडरमा पोखिएको देख्छु । त्यतै तिर सोझाउछु आफूलाई ।

अन्तिम कोठा भित्र पस्छु ।
मैनबत्ति संगै घुपका मुठा बलिरहेका छन्, भुइँमा । धुपको मुठाबाट बास्ना संगसंगै धुवाँ आइरहेको छ । मैनबत्तिको उज्यालोमा देख्छु, चारपाँच जना मान्छेहरु आँखा बन्द गरेर लिन भएर बसेका छन् ।
एकजना जगल्टाघारी छन् । गलामा अनेक रङ्गका दाना उनिएको माला पहिरिएका छन् । हेर्दै डरलाग्दो ।

मेरो मगज रन्थनिन थाल्छ । एक्कासि गर्मी भएर आउँछ ।
को हुन् यी मान्छेहरु ?

Loading...

म सबै तिर आँखा डुलाउन थाल्छु ।
एक जानको आँखा म संग ठोकिन्छ । हामी दुबै झस्किन्छौ, तर्सिन्छौ ।
उ मलाई देखाउदै जगल्टाधारी तिर हेर्दै कराउँन थाल्छ,
” तान्त्रिक बाबा, तान्त्रिक बाबा, हेर्नुस यहीं हो त्यो दुष्ट आत्मा जस्ले हामीलाई तर्साउने गर्छ हरेक रात ।”

Facebook Comments

Loading...