जापान आउनु अघि नै गम्भीर भएर सोच्नुस्, नत्र पछुताउनु पर्छ

0
158
जापान आउनु अघि

जापान आउनु अघि नै गम्भीर भएर सोच्नुस्, नत्र पछुताउनु पर्छ

डा. कृष्ण भेटवाल, एउटा युवाका कैंयन सपनाहरु हुन्छन्, जब ऊ जान्ने बुझ्ने हुन्छ । त्यसपछि झन उसका जीवनका सपना तथा योजना थपिदै जान्छन् । आफ्नो र देशको सुन्दर सपना देखेको युवा जस्तो सुकै अप्ठेरो कठिनाइसँग भिड्न पनि तयार हुन्छ । तर त्योबीचमा नसोचेका बढेमानका पहाड जस्ता अप्ठेरा घुम्तीले सबै सपनालाई चकनाचुर पनि पार्न सक्छ । एउटा कुरा सत्य हो, मानवलाई जे जस्तो हुनु लेखेको छ, त्यो हुन्छनै टारेर कसैले पनि टार्न सक्दैन ।

हाम्रो देश नेपालमा अब त जो जसरी लडेपनि ‘अन्याय’ को विरुद्ध लडेको भनेको सुन्नु अनौठो कुरा होइन । रातोमाटो,चिप्लो बाटोमा चिप्लिएर लडेतापनि, त्यो पनि अन्यायको विरुद्ध हो । किन भनेर नभन्नु होला, हामी हिड्ने बाटो रातोमाटो त्यसमाथि पनि चिप्लो के यो अन्याय होइन ?मरेको बिरालो काखी च्यापेर ठिमिको उकालो चढ्दा ढुंगामा अल्झेर लड्दा होस् या रोपाईं हिलो छ्पाछ्प् गरेर लड्दा होस्, लडेको त हो नि होइन र ?

लडेको ठाउँमा यसो अगाडि ‘अन्याय’ शब्द राखिदिनुस, भैहाल्यो नि अन्यायको लागि लडेको भन्ने । देशको राजनीतिको त कुरा नगरौं नेताहरु त झन् कति लडे लडे । कोही सपेटा तान्दा-तान्दै लडे, कोही चुस्की लिँदा-लिँदै लडे, कोही उत्तानो परेर लडे त कोही घोप्टो परेर लडे, तर लड्न चाँही सबैजसो लडे । अझै भन्ने नै हो भने अन्यायकै विरुद्ध लडे ।

तर आज उठाउन खोजेको कुरो चाँही ती कथित अन्यायका विरुद्ध लड्ने हाम्रा देशका नेताहरुको भने अवश्य होइन, बेरोजगारको कारणले भनौं या उच्च शिक्षा हासिल गर्ने रहर भन्दै विदेशिन बाध्य भएका र बाध्य पारिएका विद्यार्थीहरुको ‘बैदेशिक भूमिमा’ लडिने लडाइँको बारेमा हो । त्यसमा पनि विशेषतः जापानका विद्यार्थीहरुको बारेमा ।

प्रलोभनमा परेका नेपालीको भविष्य बारे
जापानमा अहिले विद्यार्थी भित्राउने व्यवसाय निकै नै फस्टाउँदो व्यवसाय हो । च्याउसरि खुलेका शैक्षिक कन्सल्ट्यान्सीहरुले हुल का हुल विद्यार्थीहरु भित्राईरहेका छन्, भाषा विद्यार्थीको रुपमा । देशमा निहित बेरोजगारीको चरम फाइदा उठाउँदै र अनेकन प्रलोभनमा परेर उज्ज्वल भविष्यको परिकल्पना गर्दै ‘भाषा विद्यार्थीहरु’ जापानमा आउने क्रम जारी छ । तर जापानको अवस्था भने त्यति सहज छैन ।

जापान ओर्लने बित्तिकै उनीहरुको वास्तविक जीवन सुरु हुन्छ । प्रथमतः भाषा समस्याले कैयौं महिना कोठामै थलिइन्छ। अर्कोतिर कामको समस्या, पढाइ अलपत्र, नेपालमा साहुसँग लिएको चर्को शुल्कको ब्याज, घरपरिवार आदि इत्यादि सोच्दा कमलो मुटु भएकाहरु त डिप्रेसनको शिकारसमेत भएका घटनाहरु छन् । यी मध्य केही प्रतिशतले मात्र आफ्ना उज्ज्वल भविष्य साकार पर्छन भने अधिकांश नेपालमा ब्याज तिर्दै उही कथित् ‘लडाई’ लडिरहेका हुन्छन । सामन्यतया जापानमा भाषा विद्यार्थीहरुको लागि भाषा विद्यालयहरुको वार्षिक अधिकतम शुल्क ६ लाख देखि ७ लाख हो ।

तर नेपाली विद्यार्थीहरु १० देखि १२ लाखसम्म तिर्ने बाध्य भैरहेका छन् । यतिसम्मको चर्को शुल्क पुग्नुको एकमात्र कारण भनेको ‘शैक्षिक दलाल’ हरुको कारणले गर्दा हो । यी शैक्षिक कन्सल्ट्यान्सीहरु एकातिर नेपाली विद्यार्थीहरुबाट समेत चर्को शुल्क असुल्छन भने अर्कोतिर जापानी भाषा विद्यालयबाट पनिप्रति विद्यार्थी १ लाख देखि २ लाखसम्म असुल्छन ।

हुन त व्यक्तिगत व्यवसायमा आफ्नो-आफ्नो शुल्क हुन पाउनु पर्छ भन्ने विचार बोकेका केही शैक्षिक कन्सल्ट्यान्सीहरु नभएका होइनन् । यो कुरा साँचो पनि हो तर सँगसँगै उनीहरुले नेपालमा गरेका वाचा के जापानमा पुरा गरेका छन् त ? सस्तो कोठाको व्यवस्था, तुरुन्त कामको व्यवस्था तथा यहाँ सम्मकी ‘भाषा विद्यार्थीहरुलाई आकर्षक छात्रवृत्ति’ को व्यवस्था समेतको प्रलोभन देखाइएको हुन्छ ।

हो यहीबाट सुरु हुन्छ ‘हरियो घाँस खुवाएर दुध दुहुने काम’ । यहाँसम्मकि जापान आएपछि दिइने होस्टेल सुविधामा समेत केही नेपालीहरुले निकै नै चर्को शुल्क असुलिरहेका हुन्छन । एकै कोठामा भेडा, बाख्रा सरी ४-६ जनासम्म राख्ने गर्छन र होस्टेलमा जीवनयापनका लागि चाहिने न्युनतम आवश्यकताहरुसमेत पूरा गरिएको हुँदैन । ३-६ घन्टासम्मको स्कूल, त्यसपछि रातभर काम अथवा बिहान-बेलुकीको कामले लखतरान भएर कोठामा फर्किंदासमेत आरामले सास फेर्न नपाउने अवस्थासमेत देखिएको छ बिशेष त नेपालीहरु द्वारा संचालित केही होस्टेलहरुमा ।

loading...

छात्रवृति बारे
छात्रवृत्तिको कुरै छोडौं, त्यसको पछि लाग्दै नलाग्दा हुन्छ । जापानमा कुनैपनि भाषा शैक्षिक संस्थाले सिधै नेपाली विद्यार्थीहरुलाई नेपालमै गएर कुनैपनि छात्रवृत्ति प्रदान गरेर शैक्षिक कन्सल्ट्यान्सीमार्फत भाषा विद्यार्थी झिकाउँदैनन्। नेपालमा भएका विद्यार्थीहरु जो आफै भाषा बोल्न राम्रोसँग जान्दैनन् उनीहरुलाई कसले, किन र के कारणले छात्रवृत्ति प्रदान गर्छ होला आफै विचार गर्नुस। हो, उच्च शिक्षाका तैयारी गरिरहेकाहरुले भने जापान दुतावसमार्फत नेपालमै नेपालीहरुबीच नै प्रतिस्पर्धा गर्न पाउँछन् ।

जाइका छात्रवृत्ति, जापान सरकारको छात्रवृत्ति अथवा अन्य केही सरकारी कलेजहरुमा यस्तो व्यवस्था छ । भाषा विद्यार्थीहरुले जापान आएपछि यदि भाषामा दक्षता देखाए भने मात्र केही अल्पसंख्यक भाषा विद्यालयहरुले मात्र छात्रवृत्तिको व्यवस्था गरेका हुन्छन । फुर्सतको समय जतिखेर पनि काम गर्नुपर्ने भएपछि प्रायजसो विद्यार्थीहरुले न्युनतम भाषाको ज्ञान बाहेक अन्य केही आर्जन गर्न सक्दैनन्, त्यो पनि केवल काममा जापानिज भाषा नै बोल्नुपर्ने भएकोले र कामको सिलिसिलामा अभ्यास हुने भएकोले ।

छात्रवृत्ति त धेरै परको कुरा हो । यी यावत् समस्याहरु जापानका नेपाली विद्यार्थीहरुको अहिले सामुहिक समस्या नै भन्दा अतिशयोक्ति नहोला । कतिपय शैक्षिक कन्सल्ट्यान्सीहरुले त टोकियो र अन्य केही नाम चलेका सिटिहरुमा भिषा निकाल्न नसकेर गाउँ-गाउँमा समेत उल्लेखनिय रुपमा विद्यार्थीहरु पठाइरहेका हुन्छन उही प्रलोभन देखाउँदै।

त्यस्ता गाउँहरुमा न काम, न पढाइ अति नै मानसिक समस्याहरु झेलिरहेका अनेकन नेपाली विद्यार्थी भेटिन्छन । उनीहरु त्यस्तो गाउँमा लगभग २ वर्ष कठिन जीवनयापनपछि केही ‘सेन्मोन गाक्कोउ’ (भोकेसनल क्याम्पस) को लागि मरिमेटेर शहर पस्ने प्रयत्न गर्छन त प्रायजसो मानसिकरुपमा विक्षिप्त भएर स्वदेश फर्कन्छन । हो यही हो करुणादायक कथा व्यथा एबम जापानका भाषा विद्यार्थीहरुको वास्तविक लडाई ।

उच्च शिक्षा बारे
वास्तविक समस्याको मूल जड झुटको खेती गर्ने शैक्षिक कन्सल्ट्यान्सीहरु मात्र नभई विद्यार्थी स्वयम पनि हुन् । पैसा देखेपछि आँखा चिम्लेर हाम्फाल्ने परिपाटी । जापान गएपछि केही दु:ख गरौंला, केही सम्पत्ति कमाउँला भन्ने सोच अधिकांस विद्यार्थीहरुमा निहित हुन्छ । त्यो स्वाभाविक पनि हो । जापानमा सरकारी कलेजहरु अथवा केही व्यक्तिगत कलेजहरुमा ‘भाषा’ दक्षता पश्चात निकै नै राम्रा छात्रवृत्तिका अवसर पनि नभएका होइनन ।

तर अधिकांश नेपाली विद्यार्थीहरुको ‘आरुबाइतो’ अर्थात् (पार्ट टाइम काम) मै ध्यान केन्द्रित हुन्छ । काममै केन्द्रित हुनेभएपछि अतिरिक्त क्रियाकलाप तथा अध्ययन मै पनि ध्यान नजाने भएकोले पनि यस्तो भएको हुनसक्छ । उसो त त्यस्तै १५ प्रतिशत विद्यार्थीहरु मात्र ‘उच्च शिक्षा’ को उद्देश्यले आएका हुन्छन, जापानमा तथापि आएकाहरु मध्य सबैजसोले सफलता पनि प्राप्त गरेका छन्।

हुन त बैदेशिक भूमिमा दिमाग लगाउनु नेपालको लागि ‘ब्रेन ड्रेन’ भएको बराबर हो भन्ने सोचहरु भएका व्यक्तित्वहरु पनि होलान तर जापानकै हैसियतमा भने प्राय जसो सबै प्रगतिपथमा छन् उच्च शिक्षा हासिल गर्नेहरु। तर उच्च शिक्षा हासिल गरेर ईन्जिनियर,पि.एच.डी गरेर रेस्टुरेन्ट व्यवसाय गर्नेहरु पनि नभएका भने अबश्य होइनन तर यो नितान्त व्यक्तिगत सवालको कुरो हो ।

सावधान !
अन्त्यमा विदेशी भूमिमा जाँदै हुनुहुन्छ भने एकपटक आफु जाने ठाउँको भौगोलिक अवस्था तथा आर्थिक अवस्थाको बारेमा पूर्ण जानकार हुनुहोस। बिदेशमा प्रायजसो सबै शैक्षिक संस्थाहरुको आधिकारिक होमपेजहरु हुन्छन त्यस बाट सुचना ग्रहण गर्नुहोस र आफ्नो उद्देश्य के हो त्यस तर्फ दृढ हुनुहोस । दलालमार्फत भाषा विद्यार्थीको रुपमा आउँदै हुनुहुन्छ भने उनीहरुको मिठो कुरा ध्यानपुर्वक केलाउने प्रयत्न गर्नुस तथा अन्य साथीहरुसँग पनि छलफल गर्नुस यसो गर्दा ‘मानव दलाल’ हरुको चंगुलमा फस्नबाट तपाइँ जोगिन सक्नुहुन्छ ।

जापान जाने भन्ने बित्तिकै फलिरहेको पैसा टिपेर ल्याउने होइन त्यसको लागि मरिमेटेर दु:ख गर्नुपर्छ भनेर एकपटक निधार खुम्च्याउनुस । अर्को कुरो भाषा विद्यार्थी भनेको जापानको सरकारले कामदार भनेर सोच्दैन,तपाइँले नियमपुर्वक गर्न पाउने काम भनेको हप्तामा २८ घण्टा मात्र हो, त्यो भन्दा बढी समय काम गर्नु भनेको नियमविपरित कार्य हो, जापान सरकारले चाहेको बखत, जतिखेर जुनसुकै बेलामा पनि तपाइँलाई पक्रिएर नेपाल फर्काइदिन सक्छ ।

Loading...

हप्ताको २८ घण्टाको कामले तपाइँ आफैलाई खान, बस्न र पढ्न मात्र पुग्छ। भिषा बढाउने बखत हप्तामा २८ घण्टा भन्दा बढी काम गरेको भेटिएर केही हुल विद्यार्थीहरु रुवावासी गर्दै नेपाल फर्केका ताजा उदाहरणहरु समेत छन् । विदेशी भूमिमा दोस्रो दर्जाको नागरिक भएर व्यर्थको ‘लडाइँ’ लड्नुभन्दा पहिले कुरा बुझेर, सोचविचार गरी लड्नु उत्तम हो।

loading...

Facebook Comments

Loading...