एक बैंकको कार्डले अरुको एटिएमबाट पैसा झिक्दा कति शुल्क काटिन्छ ?

0
321
एटीएम

एक बैंकको कार्डले अरुको एटिएमबाट पैसा झिक्दा कति शुल्क काटिन्छ ?

सन् १९९५ मा हिमालयन बैंकले नेपालमा ‘अटोमेटेड टेलर मेसिन’ (एटिएम) सेवा सुरु गर्यो। त्यसपश्चात अन्य बैंकहरुले एटिएमको थालनी तथा विस्तार गर्दै लगे।

loading...

एटिएमको सेवासँगै खल्तीमा पैसाको मुठा बोकेर हिँडिरहनु पर्ने बाध्यताको अन्त्य भएको छ। एटिएम कार्डबाट चाहिएको बेला पैसा झिक्न मिल्ने भएपछि लामो यात्रा गर्दा बोकेरै हिँड्नु पर्ने, हराउने वा चोरीको भय रहेन।

बैकिङ प्रणालीमा जोडिएका ग्राहकलाई दैनिक आर्थिक कारोबार गर्न थप सरल हुँदै गएको छ। नेपालमा हाल २८ वटा वाणिज्य बैंकहरु छन्, सबैले एटिएम सेवा प्रदान गर्छन्।

तर एटिएम सेवा सुरु भएको २३ वर्ष बितिसक्दा समेत सेवा प्रभावकारी देखिँदैनन्। नजिकै सम्बद्ध बैंकका एटिएम नहुनु, भए पनि बिग्रिएको अवस्थामा हुनु तथा दुवै ठीक अवस्थामा रहे पनि चाहेको बेला पैसा ननिस्कने समस्या देखिन्छन्।

यसरी खाता भएको बैंकको एटिएमबाट पैसा ननिस्केमा अन्य कुनै बैंकको मेसिन प्रयोग गर्नुपर्ने बाध्यता रहन्छ। तर अर्कोबाट पैसा निकाल्दा बैंकहरुले फरक–फरक शूल्क काट्ने गर्छन्।

सिभिल बैंक कार्ड विभागका अधिकारी विभुषण चन्दका अनुसार यी बैंकहरु भिसा, एससिटी, नेपाल इनलेक्ट्रानिक्स पेमेन्ट सिस्टम वा नेसनल पेमेन्ट नेटवर्क (एनपिएन) मा आवद्ध छन्।

केही बैंक दुई वा दुईभन्दा बढी नेटवर्कमा छन्। आवद्ध नेटवर्कभित्रका बैंकहरुबाट पैसा झिक्दा न्यनुतम २० तथा त्यसबाहिरका बैंकबाट ३० देखि २ सय ५० रुपैयाँसम्म शूल्क काटिने गरेको छ।

तर आफूले बोकेको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा काटिने शुल्कबारे कतिपयलाई जानकारी हुँदैन। तपाईले बोकेको कार्ड अन्य बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बुझ्नका लागि सबैभन्दा पहिला जानौँ बैंकहरुको एटिएम नेटवर्कबारे।

यी हुन् स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी) नेटवर्क भित्रका वाणिज्य बैंकहरुः

सिभिल बैंक एभरेष्ट बैंक
ग्लोबल आइएमइ बैंक हिमालयन बैंक
लक्ष्मी बैंक मेगा बैंक
नबिल बैंक नेपाल बैंक
एनएमबी बैंक प्रभु बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक अन्र्तगत भिसा आवद्ध नेटवर्कका वाणिज्य बैंकहरुः

राष्ट्रिय वाणिज्य बैंक कुमारी बैंक
ग्लोबल आइएमई बैंक सानिमा बैंक
सेन्चुरी कर्म्सियल बैंक मेगा बैंक नेपाल
नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंक नेपाल इन्भेष्टमेन्ट बैंक

‘नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम’ मा आवद्ध रहेका भिसा नेटवर्कका सदस्य बैंकहरुः

सिटिजन्स बैंक जनता बैंक
माछापुच्छ्रे बैंक बैंक अफ काठमाण्डौं
नेपाल बंग्लादेश बैंक एनआइसी बैंक
प्राइम बैंक सिद्धार्थ बैंक
सनराइज बैंक

भिसा नेटवर्कमा मात्र आवद्ध बैंकहरुः

नबिल बैंक लक्ष्मी बैंक
हिमालयन बैंक एनआइसी बैंक
बैंक अफ काठमाडौं बैंक प्रभु बैंक
एनएमबी बैंक नेपाल बंग्लादेश बैंक
एभरेष्ट बैंक प्राइम बैंक
नेपाल इन्भेष्टमेन्ट (मास्टर्ड कार्डको हकमा) बैंक स्ट्याण्डर्ड चाटर्ड बैंक
सिभिल बैंक (मास्टर्ड कार्डको हकमा)

नेपाल इन्भेष्टमेन्ट बैंक अन्तर्गत ‘नेश्नल पेमेण्ट नेटवर्क’ मा आवद्ध बाणिज्य बैंकः

सिभिल बैंक                 कृषि विकास बैंक

 

बैंकहरुका कार्ड विभागहरुले दिएको जानकारीका आधारमा हामीले एक बैंकको एटिएम (डेविट) कार्ड प्रयोग गरी अन्य बैंकको मेसिनबाट झिक्दा कसले कति शुल्क काट्छन् भन्ने तथ्यांक तयार पारेका छौँ।

नेपाल बैंक
नेपाल बैंकले हाल आफ्ना खातावाललाई एससिटी कार्ड प्रदान गर्ने गरेको छ। यसको कार्ड प्रयोग गरी एससिटी नेटवर्कभित्र आवद्ध कुनै पनि बैंकको एटिएम मेसिनबाट पैसा झिक्दा २५ रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने कम्पनीले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको भिसा कार्ड सञ्चालनमा छ। यसको भिसा कार्ड प्रयोग गरी पैसा झिक्दा भिसा एसोसिएटेड बैंकबाट २० तथा ति वाहेकका बाट ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

कृषि विकास बैंक
बैंकले दिएको कार्डमा नेश्नल भनेर लेखिएको हुन्छ। यसको एटिएम कार्ड प्रयोग गरी एनपिएन सदस्य बैंकहरुबाट पैसा झिक्दा २० रुपैयाँ प्रति कारोबार शुल्क लाग्नेछ।

सिटिजन्स बैंक इन्टरनेसनल
भिसा कार्ड सञ्चालन गर्दै आएको सिटिजन्सको अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट पैसा झिक्दा ३० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

loading...

सिभिल बैंक
यसका कार्ड होल्डरले हिमालयन बैंकको एटिएम प्रयोग गरेर पैसा झिक्दा १५, भिसा नेटवर्कका बैंकबाट २०, एससिटी नेटवर्क सदस्य बैंकबाट ३० तथा एनपिएन आवद्ध भिसा सदस्य बैंकबाट २५ रुपैयाँ प्रति कारोबार शुल्क तिर्नुपर्दछ।

नबिल, स्टण्डर्ड चार्टड तथा नेपाल एसबिआई बैंकको एटिएमबाट सिभिलको कार्ड प्रयोग गरी पैसा झिक्दा भने २ सय ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

स्टाण्डर्ड चार्टड बैंक
स्टाण्डर्ड चार्टडले खातावालहरुलाई दिएको डेबिट कार्डको प्रयोग गरी अन्य जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा हरेक महिनाको कारोबारमा तीन पटकसम्म निशुल्क तथा त्यसपश्चातः प्रतिकारोबार ४५ रुपैयाँ शुल्क लाग्ने कार्ड डिपार्टका नविन रानाले जानकारी दिए।

नेपाल एसबिआइ बैंक
यस बैंकको भिसा कार्डको प्रयोग गरी अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट पैसा झिक्दा ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

सनराइज / सिद्धार्थ/ प्राइम कमर्सियल/एनआइसी एसिया/जनता/बैंक अफ काठमाण्डु/माछापुच्छ्रे
यी बैंकहरुले दिने भिसा कार्ड सम्बद्ध बैंककै एटिएममा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन। तर बैंकका आफ्ना एटिएमबाहेक एकअर्काको वा अन्यको मेसिनबाट पैसा झिक्दा ३० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

लक्ष्मी बैंक
बैंकले प्रदान गर्ने गरेको एससिटी कार्डको प्रयोग गरी पैसा झिक्दा नबिलको एटिएमबाट २५, एससिटि नेटवर्क सदस्य बैंकका एटिएमबाट ३० तथा अरु बैंकबाट भने ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

नबिल बैंक
नबिलले दिएको कार्ड प्रयोग गरी अन्य जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

सानिमा बैंक
सानिमाले खातावालहरुलाई दिएको एटिएम कार्डको प्रयोग गरी पैसा झिक्दा एनपिएन नेटवर्कको भिसा आवद्ध सदस्य बैंकको मेसिनबाट २० र अन्य बैंकहरुको एटिएमबाट ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

प्रभु बैंक
प्रभुले खातावालहरुलाई दिएको एटिएम कार्डको प्रयोग गरी पैसा झिक्दा हिमालयन बैंकबाट २०, एससिटी नेटवर्कमा आवद्ध बैंकका एटिएमबाट ३० तथा भिसामा आबद्ध बैंकका एटिएमबाट १५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

नेपाल बंगलादेश बैंक
यस बैंकका कार्ड होल्डरले एससिटी नेटवर्क सदस्य बैंकका एटिएमबाट पैसा झिक्दा ५० र अन्यबाट झिक्दा १ सय ५० रुपैयाँ प्रति कारोबार शुल्क तिर्नुपर्दछ।

सेन्चुरी कमर्सियल बैंक
यस बैंकका कार्ड होल्डरले एनपिएन नेटवर्क बैंकका मेसिनबाट एक पटक पैसा झिक्दा २० र अन्य जुनसुकैबाट ५० रुपैयाँ शुल्क लाग्ने गर्छ।

एनसिसी बैंक
एनसिसी बैंकको कार्ड प्रयोग गरी पैसा झिक्दा एनपिएन नेटवर्कको भिसा आवद्ध सदस्य बैंकको एटिएमबाट २० र अन्य जुनसुकैबाट ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

एनएमबी बैंक
एनएमबिका कार्ड होल्डरले एससिटी नेटवर्क भित्रका बैंकका एटिएमबाट पैसा झिक्दा ३५ तथा अन्य जुनसुकैबाट १ सय ५० रुपैयाँ प्रति कारोबार शुल्क तिर्नुपर्दछ।

नेपाल इन्भेष्टमेन्ट बैंक
यस बैंकको कार्डबाट पैसा झिक्दा एनपिएन नेटवर्कको भिसा आवद्ध बैंकको मेसिनबाट २० र अन्य जुनसुकैबाट ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्नेछ।

ग्लोबल आइएमई बैंक
ग्लोबलले खातावालाहरुलाई दिएको कार्डको प्रयोग गरी पैसा झिक्दा एनपिएन नेटवर्क भिसा आवद्ध सदस्य बैंकको मेसिनबाट र अन्यबाट ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

हिमालयन बैंक
हिमालयनले प्रदान गरेको कार्डको प्रयोग गरी एससिटी नेटवर्क भित्रका बैंकबाट पैसा झिक्दा २५ तथा भिसा नेटवर्कका बैंकबाट निकाल्दा भने ५० रुपैैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

कुमारी बैंक
कुमारी बैंकको कार्ड प्रयोग गरी पैसा झिक्दा एनपिएन नेटवर्कका भिसा आवद्ध सदस्य बैंकको मेसिनबाट २० र अन्य जुनसुकैबाट भने ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

एभरेष्ट बैंक
एभरेष्टको भिसा कार्डबाट पैसा झिक्दा हिमालयनको एटिएमबाट २० तथा ग्लोबल, प्रभु, एनएमबी र नेपाल बैंकका एटिएमबाट भने प्रति कारोबार ३० रुपैयाँ शुल्क लाग्ने गर्छ। त्यस्तै एससिटी कार्ड भने एससिटी नेटवर्क भित्रका बैंकबाट निकाल्दा २५ प्रति कारोबार शुल्क लाग्ने गर्छ। यीबाहेक अन्यबाट निकाल्दा १५० रुपैयाँ शुल्क काटिने गर्दछ।

मेगा बैंक
मेगाको भिसा कार्ड प्रयोग गरी पैसा झिक्दा एनपिएन नेटवर्कको भिसा आवद्ध सदस्य बैंकको मेसिनबाट २० र अन्य जुनसुकैबाट ५० रुपैयाँ प्रति कारोबार शुल्क लाग्ने गर्छ।

Loading...

त्यस्तै एससिटी कार्डको हकमा भने एससिटी नेटवर्क सदस्य बैंकका एटिएमबाट २५ रुपैयाँ प्रति कारोबार शुल्क काटिने गर्दछ।

Facebook Comments

Loading...